प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा ‘प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७५’ को समापन

१. आज मिति २०७५ असोज १९ गते जंगी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले ‘प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७५’ को एक विशेष समारोहका बीच समापन गर्नु भएको छ ।

२. उक्त अवसरमा प्रधानसेनापति महारथी श्री थापाले ‘प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता-२०७५’ मा समग्रमा प्रथम बन्न सफल श्री नं.१६ बाहिनी अड्डा तथा द्वितीय बन्न सफल श्री मध्य पृतना हे.क्वा.लाई नगद तथा ट्रफि प्रदान गर्नुभएको छ । वहाँले आजको समापन समारोहमा आयोजित प्रधानसेनापति ट्रफि पृतना रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रथम स्थान हासिल गर्न सफल श्री उपत्यका पृतना हे.क्वा., द्वितीय हुने नं.१४ वाहिनी अड्डा र तृतीय हुने नं.१५ वाहिनी अड्डाका प्रशिक्षक तथा खेलाडीहरुलाई ट्रफि, नगद, प्रमाण पत्र र पदक प्रदान गर्नुभएको थियो भने, गणतर्फको खेलकुदमा समग्रमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः श्री जगदल गण, श्री पुरानो गोरख गण र श्री नं. १ जगदल गणलाई ट्रफि तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।

३. सोही क्रममा प्रधानसेनापति श्री थापाले क्रमशः इन्डोनेसियाको जाकर्तामा सम्पन्न १८ औं एसियन गेममा भारोत्तोलन तर्फ नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल भएका सुवेदार कमल बहादुर अधिकारी, एथ्लेटिक्स तर्फ पुरुष ८०० मिटर दौडमा अमल्दार सोम बहादुर कुमाल साथै भुटानमा संचालन भएको साफ क्रसकन्ट्रिमा द्वितीय स्थान हासिल गर्न सफल एथ्लेटिक्स महिला खेलाडी अमल्दार विश्वरुपा बुढालाई नगद पुरस्कार तथा ट्रफी प्रदान समेत गर्नु भएको थियो ।

४. उक्त समापन कार्यक्रममा पूर्व प्रधानसेनापतिहरु, बलाधिकृत रथी, अन्य सुरक्षा अंगका प्रमुखहरु, रथीबृन्द, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु, नेपालस्थित विदेशी सैनिक सहचारीहरु, एन्फा अध्यक्ष तथा नेपाली सेनाका सकलदर्जाहरुको उपस्थिती रहेको थियो ।