बलाधिकृत रथीद्वारा प्रि-डिप्लोयमेण्ट तालिमको समापन

१. आज मिति २०७५ कार्तिक १६ गते बलाधिकृत रथी श्री हेमन्त राज कुँवरले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ UNIFIL Mission, लेवनानमा तैनाथ हुन जाने श्री रणशार्दुल गण (शा.से.) ६० औं डफ्फाको पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भएको प्रि-डिप्लोयमेण्ट तालिमको समापन गर्नुभएको छ ।

२. उक्त समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बलाधिकृत रथी श्री कुँवरले नेपाली सेनाका परामाघिपति तथा सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीले प्रदान गर्नु भएको शुभकामना सन्देश समेत पढेर सुनाउँनु भएको थियो । उक्त सन्देशमा, नेपाली सेनाले विगत ६० वर्षदेखि संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागी नेपाल सरकारको विश्व शान्ति प्रयासप्रतिको निष्ठा र प्रतिबद्धता बमोजिम नेपाली सेनाले दिएको योगदान उदाहरणीय रहेको उल्लेख गर्नु भएको थियो । साथै कार्यक्षेत्रमा शान्ति सैनिकले आफुलाई एक योग्य शान्ति सैनिकको रुपमा परिचित गराई आफ्नो पेशागत दक्षता र कुशलता, मानव अधिकारको उच्च सम्मान तथा मानवीय सहयोगको भावना राखी विश्व शान्तिप्रति नेपालको गहिरो प्रतिबद्धताको सन्देश संसारमा फैलाउने कार्यमा नेपाली सेना सफल हुनेमा पूर्ण विश्वास लिएको समेत उल्लेख गर्नु भएको थियो ।

३. सम्बोधनकै क्रममा बलाधिकृत रथी श्री कुँवरले प्रि-डिप्लोयमेण्ट तालिममा हासिल गरेको ज्ञान र सैनिक कौशललाई मिशन इलाकामा आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिनु भएको थियो । साथै कार्य सम्पादनको दौरान एक-अर्काको धर्म, संस्कृति र परम्पराको सम्मान गर्न समेत निर्देशन दिदै अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापाको मुख्य जिम्मेवारी उत्कृष्ट ढंगबाट बहन हुने विश्वास व्यक्त गर्नु भएको थियो ।

४. समापन समारोहको दौरान मिशनमा खट्टिनु भएका गणपतिले मिशनको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने बलाधिकृत रथी श्री कुँवरले मिशनमा तैनाथ हुन जाने गणले प्रदर्शन गरेको विभिन्न अभ्यास तथा प्रदर्शनीहरुको समेत अवलोकन गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाहरुको उपस्थिति रहेको थियो ।