प्रधानसेनापतिको मित्रराष्ट्र भारतको औपचारिक भ्रमण सम्पन्न

१. मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा मिति २०७५ पौष २७ गतेबाट भारत भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले ६ (छ) दिने भ्रमण सम्पन्न गरी आज मिति २०७५ माघ ०२ गते अपरान्ह स्वदेश फिर्ता हुनु भएको छ ।

२. प्रधानसेनापति श्री थापालार्ई बलाधिकृत रथी श्री हेमन्त राज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो भने नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थितिमा उहाँको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

३. नेपाल सरकारको निर्णय बमोजिम भारत भ्रमणको क्रममा मिति २०७५ पौष २८ गते प्रधानसेनापति महारथी श्री थापालाई भारतका महामहिम राष्ट्रपति श्री राम नाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी (Honorary Rank of General of the Indian Army) दर्जा प्रदान गर्नु भएको थियो । भ्रमणको क्रममा प्रधानसेनापति महारथी श्री थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावतसँग भेटघाट गर्नुको साथै न्यू दिल्लीस्थित नेशनल डिफेन्स कलेज, जयपुरस्थित South-Western Command र लखनऊस्थित Central Command को मुख्यालयहरुको निरिक्षण भ्रमण समेत गर्नु भएको थियो ।

४. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमण र दुई देशको सेनाका प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबीच विगतदेखि रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धले निरन्तरता पाउनुका साथै द्धिपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन महत्वपूर्ण भएको विश्वास नेपाली सेनाले लिएको छ ।