प्रधानसेनापतिद्वारा सैनिक आचार संहिता २०७६ को शुभारम्भ

१. नेपाली सेनामा कार्यरत सकलदर्जाले आफू बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यवहारिक आचरणहरुका बारेमा सुसूचित गरी सकलदर्जालाई शिक्षित बनाउने उद्देश्यले मिति 2076 वैशाख 06 गतेदेखि ऐ. 13 गतेसम्म संचालन हुन गईरहेको सैनिक आचार संहिता २०७६ को सप्ताह कार्यक्रमलाई प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले एक विशेष समारोहकाबीच जङ्गी अड्डास्थित श्री त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा शुभारम्भ गर्नुभएको छ ।

२. ‘आचार संहिताको सप्ताह: सैनिक सदाचारको उत्साह’ भन्ने मूल नाराका साथ संचालन भएको उक्त कार्यक्रममा प्रधानसेनापति श्री थापाले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै संगठनको गरिमामय इतिहास, हाम्रा पूर्खाहरुको वीरता, विगतमा राष्ट्रलाई आवश्यक परेको समयमा नेपाली सेनाले निर्वाह गरेका विविध जिम्मेवारीहरु एवम् अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा पुर्यालएको योगदान नै नेपाली सेनाप्रति नेपाली जनताको विश्वासका मुख्य आधारहरु भएको र यी सवै कार्य सम्पादनार्थ सकलदर्जाले प्रदर्शन गरेको निःस्वार्थ सेवाभाव, व्यावसायिक चरित्र, उच्च अनुशासन र आचरण महत्वपूर्ण रहेको बताउनु भएको थियो । साथै, उहाँले नेपाली सेनामा सैनिक आचार संहिताको आवश्यकता र महत्वको बारे प्रकाश पार्दै यो आचार संहिता सकलदर्जालाई शिक्षित गराउनको लागि सेनाका सबै युनिटहरुमा प्रत्येक वर्षको वैशाख महिनाको पहिलो हप्तामा संचालन गरिने र यसरी शिक्षित गर्दा गर्दै पनि आचार संहिता विपरित कार्य गर्ने जो-कोहिलाई सैनिक ऐन अनुसार कारवाही गरिने समेत प्रष्ट्याउनु भएको थियो ।

३. कार्यक्रमकै दौरानमा, प्रधानसेनापति श्री थापाले सैनिक आचार संहिता संग्रह–२०७६ र सो सम्बन्धी तयार गरिएको ब्रोसर विमोचन गर्नु भएको थियो । सोहि अवसरमा सैनिक आचार संहिता सम्बन्धी तयार गरिएको डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो । उक्त आचार संहिता सप्ताहले सकलदर्जालाई थप शिक्षित, सचेत, अनुशासित, इमान्दार र कर्तव्यनिष्ठ बनाउने विश्वास नेपाली सेनाले लिएको छ ।

४. आजै, प्रधानसेनापति श्री थापाको समुपस्थितिमा जंगी अड्डामा कार्यरत रथीवृन्दले जङ्गी अड्डालाई थप सुव्यवस्थित एवं पर्यावरण मैत्री बनाउने उद्देश्यका साथ नयाँ वर्ष एवं सैनिक आचार संहिता २०७६ सप्ताह शुभारम्भको उपलक्ष्यमा विभिन्न जातका फलफूलका विरुवाहरुको बृक्षारोपण समेत गर्नु भएको थियो ।