प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापा मिति २०७६ वैशाख ०७ गते नेपाली सेनाद्वारा रुपन्देही जिल्लास्थित श्री मध्य पश्चिम पृतना हे.क्वा.को जिम्मेवारी क्षेत्रमा पर्ने मर्चवारमा सञ्चालित स्वास्थ्य शिविर, कपिलबस्तुस्थित श्री नारायणदल गणको सुरक्षा बेश स्युराज र चितवन जिल्लाको कसरास्थित श्री बटुकदल गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले श्री नारायणदल गणको सुरक्षा बेश स्युराजमा रहेको स्युराज पार्कको अवलोकन गरी बृक्षारोपण गर्नुका साथै उक्त गण तथा सुरक्षा बेशको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो ।

३. सोही क्रममा प्रधानसेनापति श्री थापा रुपन्देही जिल्लास्थित जीतगढी किल्लामा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीद्वारा उजिर सिंह थापाको मुर्ति अनावरण तथा झण्डोत्तोलन कार्यक्रममा सहभागी समेत हुनु भएको थियो । उहाँ आज श्री बटुकदल गणमा मुकाम रहनु भई अन्तर्गत सुरक्षा बेशहरुको निरीक्षण भ्रमण पश्चात मिति २०७6 वैशाख 08 गते काठमाण्डौँ फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।