जनता आवास (बारा र पर्सा) पूनर्निर्माण कार्यक्रम शुभारम्भ

१. नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा 'जनता आवास' (बारा र पर्सा) कार्यक्रम संचालनार्थ विभिन्न १२ ठाउँमा १२ वटा समूह बनाएर एकै पटक घर निर्माण गर्ने योजना अनुरुप बैशाख १४ गतेबाट नेपाली सेना आवश्यक बन्दोबस्ति तयारीका साथ तैनाथ भएकोमा आज मिति २०७६/०१/२१ गतेबाट औपचारिक रुपमा माननीय उपप्रधान एवं रक्षामन्त्री श्री ईश्वर पोखरेल, मन्त्रीगण लगायत प्रदेश नं.२ का मुख्यमन्त्री श्री लालबाबु राउतबाट शिलान्यास भई शुभारम्भ भएको छ ।

२. 'जनता आवास' कार्यक्रमको क्रममा फेटा गाउँपालिका- ६ पुरैनियामा उपप्रधान एवं रक्षामन्त्री श्री पोखरेलले, परवानीपुर- ४ चैनपुरमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री श्री उपेन्द्र यादवले, प्रसौनी गाउँपालिका- ४ खटुवाजग्दीमा गृहमन्त्री श्री राम बहादुर थापाले, बीरगञ्ज महानगरपालिका- २२ जगरनाथपुरमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री श्री वर्षमान पुनले, सुवर्ण गाउँपालिका- ४ हर्दियामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्री रघुवीर महासेठले, पचरौता नगरपालिका- ७ बेनौलीमा संघिय मामिला तथा सामान्य प्रसाशनमन्त्री श्री लालबाबु पण्डितले, फेटा गाउँपालिका- ४ भलुहीमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री श्रीमती थममाया थापाले, बीरगञ्ज महानगरपालिका-५ उदयपुर घुर्मीमा खानेपानीमन्त्री श्रीमती बिना मगरले, फेटा गाउँपालिका- ४ भरवलीयामा सहरी विकासमन्त्री श्री मोहम्मद इश्तियाक राईले, महागढीमाई नगरपालिका- ७ तेलगाईमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री श्रीमती पद्मा कुमारी अर्यालले, कलैया उपमहानगरपालिका- १३ छोट्कीफुलबारिया र देवताल गाउँपालिका- ७ रामपुर्वामा प्रदेश नं. २ का मुख्यमन्त्री श्री राउतले नवनिर्माणाधीन घरहरुको शिलान्यास गर्नु भएको थियो ।

३. हावाहुरी प्रभावित क्षेत्र पर्सामा ९१ घर र बारामा १३६२ घर गरी जम्मा १४५३ घर निर्माणका लागि विभिन्न १२ ठाउँमा नेपाली सेनाका इन्जिनियरहरुलगायत हाल २३३२ जना दक्ष जनशक्ति परिचालित भईरहेका छन् । तीन चरणमा सम्पन्न गरिने उक्त 'जनता आवास' कार्यक्रम अन्तर्गत पहिलो चरणमा ४८२ घरहरु जेष्ठ २६ गते भित्र, दोस्रो चरणमा ४८२ घरहरु आषाढ २८ गते भित्र र तेस्रो चरणमा ४८९ घरहरु श्रावण ३० गते भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ । उक्त निर्माणाधिन घरहरुको अनुगमन, नियन्त्रण, समन्वय र सहयोग गर्नको लागि स्थानिय स्तरमा पूनर्स्थापना तथा घर पूनर्निर्माण सहजीकरण समन्वय समिति समेत गठन भएको छ ।

४. शुभारम्भको क्रममा माननीय उपप्रधान एवं रक्षामन्त्री श्री पोखरेलले नेपाली सेनालाई दिइएको जिम्मेवारी समयमा नै सम्पन्न गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको थियो । सोही अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री श्री राउतले निर्माण कार्यको लागि नेपाली सेनालाई जस्तोसुकै सहयोग उपलब्ध गराउन तयार रहेको बताउनु भएको थियो । उक्त कार्यक्रममा नेपाली सेनाको तर्फबाट प्रधानसेनापतिको प्रतिनिधित्व गर्दै बलाध्यक्ष रथी श्री गौरव तण्डुलले स्वागत मन्तव्य राख्नु भएको थियो ।