माननीय उपप्रधान तथा रक्षामन्त्रीद्वारा 'सगरमाथा हिमाल सफाई अभियान-२०७६' को अवलोकन

१. स्थानीय सरकार, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु र नेपाली सेनाको संयुक्त प्रयासमा भएको 'सगरमाथा हिमाल सफाई अभियान-२०७६' को मिति २०७६/०२/१३ गते माननीय उपप्रधान तथा रक्षामन्त्री श्री ईश्वर पोखरेलले अवलोकन गर्नु भएको छ ।

२. कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्री पोखरेलले स्वच्छ वातावारण र दीर्घ जीवन चाहने संसारभरका मानिसलाई सगरमाथा हिमाल सफाई अभियानमा जोडिन आह्वान गर्नुभएको छ ।वातावरण र हिमाल संरक्षणमा रुची राख्ने विश्वभरकै मानिसका लागि यो अभियान जनचेतना जगाउने अभियानका रुपमा रहेको कुरा बताउनु हुँदै नेपालको गौरवमय इतिहास बोकेका प्राकृतिक र ऐतिहासिक गढी, चुरे पहाड, माललगायतका संरक्षण र सम्बर्धनमा नेपाली सेनाले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको चर्चा गर्नुहुँदै वहाँले मुलुक र जनताको हितमा सेनाले निरन्तर कार्य गर्दै आएको उल्लेख गर्नुभयो थियो ।

३. सम्बोधनकै क्रममा प्रदेश नं.१ का मुख्यमन्त्री श्री शेरधन राईले राष्ट्रको विकास र समृद्धिको एजेण्डा तथा 'सुखी नेपाली समृद्ध नेपाल'को लक्ष्य कार्यान्वयनका लागि सगरमाथासँग जोडेर लैजान आवश्यक भएको बताउनु हुँदै “सगरमाथा हाम्रो शान, गौरव र परिचयका रुपमा रहेकोले खुम्बु पासाङ गाउँपालिकालाई प्रदेश नं.१ प्रदेशको पर्यटकीय गाउँका रुपमा घोषणा गरी रु ५० लाख उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।

४. सम्बोधन कै क्रममा प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले जनस्तरीय सहभागीता सहितका यस्ता सामुहिक प्रयासबाट पर्यावरण संरक्षण तथा सुरक्षाका राष्ट्रिय लक्ष्यहरु हासिल गर्न ज्यादै नै प्रभावकारी हुने कुरामा जोडदिनु हुँदै अन्तर्राष्ट्रिय स्तरमा समेत प्रकृति तथा पर्यावरण संरक्षणमा नेपालको महत्वपूर्ण प्रयास एवं राष्ट्रिय एकता प्रति सकfरात्मक सन्देश जाने भएकोले सगरमाथा र खुम्बु क्षेत्रको सुधारका लागि आगामी दिनहरुमा हामी सबैले सामुहिक तवरमा सबै पक्षबीच चेतना अभिबृद्धि गरी सगरमाथा क्षेत्रमा सफाई अभियान गर्न नपर्ने गरी फोहोर नै हुन नदिने अभियान तथा व्यवस्थापन तर्फ केन्द्रित हुनु पर्ने कुरा बताउनु भएको थियो । यस अभियानले नेपाल सरकारको 'भिजिट नेपाल २०२०' कार्यक्रमलाई समेत थप टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

५. मिति २०७६/०१/०१ गतेबाट शुरु भएको सगरमाथा हिमाल सफाई अभियानमा बन्दोबस्ती कार्यको लागि नेपाली सेनासँग भएका हेलिकोप्टर तथा जनशक्ति प्रयोग गरी अभियानका क्रममा खुम्बु क्षेत्रमा संकलन भएको करिव ४००० हजार किलोग्राम फोहोर मध्ये १००० के.जी. फोहोर २०७६ वैशाख ०५ गते 'Blue Waste to Value' नामक संस्थालाई हस्तान्तरण गरिएको र चार जनाको शवलाई काठमाण्डौँ ल्याईएको थियो ।साथै सो क्षेत्रमा संकलित बाँकी करिव ६००० के.जी. फोहोर उचित व्यवस्थापनको लागि आगामी जेष्ठ २० गतेभित्र काठमाण्डौँ ल्याउने योजना समेत रहेको छ ।

६. उक्त अवलोकन कार्यक्रममा प्रदेश नं.१ का माननीय मुख्यमन्त्री श्री शेरधन राई, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री श्री धनबहादुर बुडा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं सांसद योगेश भट्टराई, प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापा, प्रदेश नं.१ का माननीय सांसद श्री हेम कुमार राई, माननीय सांसद श्री बुद्धि कुमार राजभण्डारी, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मीहरु, विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरु र स्थानीय वासिन्दाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।