कायममुकायम प्रधानसेनापतिद्वारा जनता आवास (बारा र पर्सा) पूनर्निर्माणको निरीक्षण भ्रमण सम्पन्न

१. नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा 'जनता आवास' (बारा र पर्सा) कार्यक्रम सञ्चा‍लनार्थ विभिन्न १२ स्थानहरुमा १२ वटा समूह बनाएर एकै पटक घर निर्माण गर्ने योजना अनुरुप मिति २०७६ बैशाख १४ गतेबाट नेपाली सेनाले गरिरहेको पुनर्निर्माणको आज मिति २०७६ असार ०५ गते कायममुकायम प्रधानसेनापति रथी श्री शरद कुमार गिरीले निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. भ्रमणको दौरान जनता आवास कार्यदलका कमाण्डर, बारा र पर्सा जिल्लामा तैनाथ गणका गणपतिहरु र उक्त कार्यदलको अपरेशन अधिकृतले हालसम्म भएका कार्य प्रगति तथा भविष्यमा गरिने निर्माण योजनाको जानकारी गराउनु भएको थियो । सोहि अवसरमा कायममुकायम प्रधानसेनापति श्री गिरीले बारा जिल्लामा ४ वटा क्लस्टर (परवानीपुर/चैनपुर, खटुवाजग्दी, पुरैनिया र छोट्की फुलवरिया) हरुको स्थलगत निरीक्षण गरी हावाहुरी पिडितहरुसँग अन्तरक्रिया समेत गर्नुभएको थियो ।

३. उक्त निरीक्षण भ्रमणको दौरान नेपाली सेनाका रथीबृन्द, हावाहुरी प्रभावित क्षेत्रका स्थानीय वासिन्दा हरुको उपस्थिति रहेको थियो । निरीक्षण भ्रमण सम्‍पन्नह गरी उहाँ आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।