पश्‍चिम एयर वेश सञ्‍चालन कार्यको शुभारम्भ

१. आज मिति २०७६ भाद्र १७ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले सुर्खेत स्थित नेपाली सेनाद्वारा स्थापना भएको पश्‍चिम एयर वेश सञ्‍चालन कार्यको औपचारिक रुपमा शुभारम्भ गर्नु भएको छ ।

2. नेपाली सेनाले पश्‍चिम र पूर्वमा एयर वेश स्थापना गरि काठमाण्डौबाट मात्रै प्रदान गर्दै आएको हवाई सुविधालाई क्रमशः मुलुकभर विस्तार गर्ने नीतिअनुसार नेपाली सेनाले आजबाट सुर्खेत स्थित पश्‍चिम एयर वेशको शुभारम्भ गरि उक्त कार्यको थालनी गरेको छ । सुरक्षित हवाई क्षमता वृद्वि गर्ने उद्देश्यले सुर्खेत स्थित पश्‍चिम एयर वेशमा ह्याङ्गगर निर्माण कार्यको थालनी भईसकेको र हाल एम आई-17 सहित दुई वटा हेलिकोप्टर नियमित रुपमा तैनाथ गरी हवाई सेवाको पहुँच वृद्वि गर्ने कार्यको सुरुवात गरिएको छ भने आगामी 10 वर्षभित्र हवाई साधन थप गरि 2nd Line Maintenance सहितको सेवा प्रदान गर्ने उद्देश्य रहेको छ ।

3. नेपाली सेनाको हवाई पारवहन क्षमतालाई उपत्यका बाहिर समेत विस्तार गरि सेवा प्रदान गर्ने कार्यक्रम अन्तरगत पश्‍चिम एयर वेशले पश्‍चिम तथा सुदुर पश्‍चिमका जनताहरुलाई विपद् तथा आकस्मिक घटनाहरुको समयमा छिटोछरितो र प्रभावकारी ढंगबाट उद्दार तथा राहत वितरण कार्यमा थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

4. उक्त शुभारम्भ कार्यक्रममा युद्वकार्य महानिर्देशक, व्यवस्था नीति तथा योजना महानिर्देशक, प्रबन्ध तथा संभाररथी, सैनिक हवाई महानिर्देशक, उत्तर पश्‍चिम पृतनापतिलगायत उच्च पदस्थ सैनिक अधिकारीहरुको उपस्थिति रहेको थियो ।