जनता आवास (बारा र पर्सा) पुनर्निर्माण कार्यक्रम समापन

१. बारा र पर्सा जिल्लामा मिति २०७६ चैत्र १७ गते आएको हावाहुरी सहितको चक्रवत तथा असिना पानीका कारण स्थानीय घरहरुमा क्षति पुग्न गई विस्थापित भएका विपद् प्रभावितहरुको पुर्नस्थापना र घर पुननिर्माणको लागि नेपाली सेनालाई परिचालन गर्ने नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७५ चैत्र २१ गतेको निर्णय अनुसार मिति २०७६/०१/२१ गते पुननिर्माण कार्यको शुभारम्भ भई आज मिति २०७६/०५/१८ गते माननीय कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री श्री ईश्वर पोखरेल, नेपाल सरकारका मन्त्रीहरु, प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापा, रक्षा सचिव श्री रेश्मीराज पाण्डे तथा विभिन्‍न सरकारी निकायका उच्चपदस्थ व्यक्तित्वहरुको उपस्थितिमा प्रदेश नं.२ का माननीय मुख्यमन्त्री श्री लालबाबु राउतबाट सम्बन्धित महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरुलाई निर्माण भएका घरहरुको प्रमाण पत्र हस्तान्तरण गर्नु भएको छ ।

२. हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै माननीय कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री श्री पोखरेलले नेपाली सेनाले आफ्नो गौरवपूर्ण परम्पराको निरन्तरतालाई कायम राख्दै तोकिएको जिम्मेवारी समयमा नै सम्पन्‍न गरेकोमा सम्माननीय प्रधानमन्त्रीबाट प्रशंसा एवं धन्यवाद व्यक्त गर्नु भएको सन्देश सुनाउनु भएको थियो । सोही क्रममा उहाँले नेपाली सेना र विशेष गरि जनता आवास पुननिर्माणमा खट्टिनु भएका सबैलाई प्रशंसनिय ढंगले महत्वपूर्ण काम सम्पन्‍न गरेकोमा विशेष धन्यवाद दिनु भएको थियो । सोही समारोहमा उहाँले सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने बाहिनी/गणहरु तथा आपूर्तिकर्ताहरुलाई प्रशंसा पत्र समेत प्रदान गर्नु भएको थियो । सम्वोधनकै क्रममा प्रदेश नं २ का मुख्यमन्त्री श्री लालबाबु राउतले विपद् प्रभावितहरुको पुर्नस्थापना र घर पुननिर्माण कार्यको लागि नेपाल सरकार र प्रधानमन्त्रीज्यूलाई विशेष धन्यवाद दिनु हुँदै नेपाली सेनाले मितव्ययीतालाई ध्यानमा राखी समयमा कार्य कुशलताका साथ निर्माण कार्य सम्पन्‍न गरेकोमा प्रधानसेनापति लगायत सो कार्यमा खट्टिएका सकलदर्जाको सराहना गर्नु हुँदै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

३. उक्त कार्यक्रमको अवसरमा आफ्नो मन्तव्य राख्‍नु हुँदै प्रधानसेनापति महारथी श्री थापाले "राष्ट्र सबैभन्दा पहिला" तथा "कर्तव्य सधै पहिला" भन्‍ने संस्थागत मान्यतालाई आत्मसात गर्दै निर्दिष्ट जिम्मेवारीलाई सम्पन्‍न गर्न नेपाली सेना सदैव प्रतिवद्व रहेको र यस किसिमका विपत्तीहरुमा नेपाली सेनाले भविष्यमा समेत आफ्नो जिम्मेवारीलाई उत्कृष्ट ढंगबाट सम्पन्‍न गर्ने प्रतिवद्वता व्यक्त गर्नु भएको थियो । सोही क्रममा उहाँले विशेष कार्यलाई सफल बनाउन निरन्तर मार्ग निर्देशन प्रदान गर्नुहुने माननीय कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री, माननीय प्रदेश प्रमुखलगायत सम्बद्व निकायका विरिष्ठ पदाधिकारीहरु र नेपाली सेनाबाट खट्टिएका सम्पूर्ण सकलदर्जा प्रति आभार एवं कृतज्ञता समेत व्यक्त गर्नु भएको थियो । सोही अवसरमा उहाँले उत्कृष्ट कार्य गर्ने सैनिक व्यक्तिहरुलाई COAS Commendation Badge समेत प्रदान गर्नु भएको थियो ।

४. नेपाली सेनाले 'जनता आवास' कार्यक्रम अन्तरगत बारा जिल्लाको विभिन्‍न 5 स्थानमा 304 र पर्सामा जिल्लाको विभिन्‍न ७ स्थानमा ५६५ गरी जम्मा ८६९ घरहरुको निर्माण कार्य सम्पन्‍न गरेको छ । मिति २०७६ श्रावण ७ गते बसेको पुनर्निर्माण, पुर्नस्थापना, सहजिकरण र समन्वय समितिको बैठकको निर्णय अनुसार पुनर्निर्माण गर्नुपर्ने घरहरुको संख्या ८८१ कायम गरेको जसमध्ये १२ वटा घरहरु विवादित रहेकोले सो विवादित संख्या कटाई ८६९ वटा घरहरुको निर्माण कार्य समापन गरि नेपाली सेनाले हस्तान्तरण गरेको हो। नेपाली सेनाले पुननिर्माण कार्य मिति २०७६ श्रावण २६ गते सम्पन्‍न गर्ने लक्ष्य लिएकोमा असारको अन्तिम साता आएको भारी वर्षाको कारण पुननिर्माण कार्य भईरहेका विभिन्‍न स्थानहरु (Cluster) डुवानमा परी निर्माण कार्य प्रभावित हुन गई लक्षित मिति भन्दा हस्तान्तरण कार्य दुई साता पछि सरेको हो ।

५. उक्त जनता आवास कार्यक्रम अन्तरगत प्रति घर रु. ५ लाख ४५ हजार ९ सय ८५ रुपैंया ८८ पैसा निकासा भएकोमा नेपाली सेनाले मितव्ययीतालाई प्राथमिकता दिई प्रति घर रु.४ लाख ८४ हजार ८ सय ८८ रुपैया ६० पैसामा निर्माण सम्पन्‍न गर्न सफल भई प्रति घर ११.१९ प्रतिशत रकम बचत गरि सो रकम नेपाल सरकारलाई फिर्ता गरेको छ ।

६. नेपाल सरकारबाट प्राप्त भएका सबै किसिमका जिम्मेवारीहरु पूरा गर्न नेपाली सेना सदैव आफ्नो पेशागत क्षमता र दक्षताको पूर्ण रुपमा सदुपयोग गर्दै सुम्पिएका कार्यहरु स्तरयुक्त एवं विश्‍वसनीय ढंगबाट समयमा नै मितव्ययीताका साथ सम्पन्‍न गर्न सदैव तत्पर रहेको साथै त्यस्ता कार्यहरुबाट नागरिक-सैनिक सम्बन्ध थप सुदृढ हुने विश्‍वास नेपाली सेनाले लिएको छ ।