प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा पदबहालीको एकवर्ष पूरा भएको अवसरमा सम्बोधन र रोलकल सम्पन्न

१. आज मिति २०७६ भदौ २४ गते, गत वर्षबाट त्रैमासिक रुपमा सञ्चालन हुंदै आएको प्रधानसेनापति त्रैमासिक रोलकलको चौथो संस्करण सम्पन्न भएको छ । जंगी अड्डास्थित सभामण्डपमा आयोजित उक्त रोलकलमा विभिन्न युनिटमा तैनाथ सकलदर्जाले आफ्ना रायसुझाव तथा जिज्ञासाहरु प्रस्तुत गरेका थिए भने प्रधानसेनापतिको उपस्थितीमा विभागीय प्रमुख तथा कार्यालय प्रमुखहरुले जवाफ दिनुभएको थियो ।

२. उक्त कार्यक्रमको दोस्रो खण्डमा पदबहालीको एक वर्ष पूरा भएको अवसरमा प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले सकलदर्जालाई सम्बोधन गर्नुभएको थियो । नेपाली सेनाका सबै युनिटमा लाइभ मल्टिकाष्ट गरिएको उक्त सम्बोधनका दौरान प्रधानसेनापति महारथी श्री थापाले कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरु र प्राप्त उपलब्धिहरुको समिक्षा गर्नुभएको थियो । यसैगरि, सम्बोधनका क्रममा उहाँले नेपाली सेनाको सांगठनिक संरचना सुधारका लागि विविध आधारहरु खडा गरिएको तथा आगामी वर्ष कार्यान्वयनका लागि निर्धारण गरिएका योजनाहरुका बारेमा चर्चा गर्नुभएको थियो ।

३. सम्बोधनको क्रममा उहाँले नेपाली सेनालाई प्राप्त प्रमुख र द्धितीयक भूमिकाहरु, संगठन सुधार तथा स्तरोन्नती, कल्याणकारी योजनाहरु, शान्ति सेना सहभागिता, नागरिक–सैनिक सम्बन्ध लगायतका विषयहरुमा आफ्नो भिजन तथा कार्यादेश प्रष्ट पार्नुभएको थियो । राष्ट्रले सुम्पिएको गहन् जिम्मेवारी बहन गर्न पूर्ण आचारयुक्त र निष्ठाका साथ लाग्न तथा आर्थिक सुशासन र पारदर्शितालाई केन्द्रमा राखेर काम गर्न सबै कमाण्डर तथा सकलदर्जाका व्यक्तिहरुलाई निर्देशन पनि दिनुभयो । सोही क्रममा उहाँले आफ्नो सम्पत्ति विवरण समेत नेपाली सेनाको वेवसाइटमार्फत सार्वजनिक गर्नुभएको थियो ।

४. कार्यक्रममा नेपाली सेनाका सकलदर्जा, आमसञ्चारमाध्यमका प्रधान सम्पादकहरु तथा पत्रकारहरु लगायतको उपस्थिती रहेको थियो ।