प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग सातौं Pacific Armies Chiefs Conference (PACC-VII) सम्मेलनमा सहभागी भई स्वदेश फिर्ता

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग Singapore Armed Forces र संयुक्त राज्य अमेरिकी सेनाको संयुक्त तत्वावधानमा सिंगापुरमा मिति २०६८ श्रावण १२ गतेदेखि ऐ.१५ गते (तदनुसार २८ देखि ३१ जुलाई २०११) सम्म आयोजना भएको चार दिने सातौं Pacific Armies Chiefs Conference (PACC-VII) मा सहभागी भई आज मिति २०६८ श्रावण १८ गते अपरान्ह स्वदेश फिर्ता हुनुभयो । २. “बहुपक्षीय सुरक्षा सहयोगमार्फत थल सेनाको क्षमता अभिबृद्धि गर्ने” प्रमुख लक्ष्यका साथ आयोजित सो सम्मेलनको दौरान सहभागिहरुबीच दुईपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु सञ्चालन भई एसिया–प्रशान्त क्षेत्रको सुरक्षालगायत विविध समसामयिक विषयहरुमाथि छलफल भएको थियो । सोही सिलसिलामा, उहाँले मित्रराष्ट्र संयुक्त राज्य अमेरिका, चीन, भारत, पाकिस्तान, बंगलादेश, मंगोलिया, क्यानाडा, दक्षिण कोरिया, थाइल्याण्ड, मालदिभ्स्, श्रीलंका, मलेसिया र सिंगापुरका सेना प्रमुख तथा प्रतिनिधिहरुसंग भेटघाट गर्नुभई द्धिपक्षीय आपसीहीतका बारेमा छलफल गर्नुभएको थियो । ३. संयुक्त राज्य अमेरिकी सेनाका सेनाध्यक्ष, General Martin E. Dempsey र Singapore Armed Forces का सेनाध्यक्ष, Major General Ravinder Singh को संयुक्त निमन्त्रणामा उहाँकी धर्मपत्नी श्रीमती कमला गुरुङ्ग र स्टाफ अधिृकतसहित प्रधानसेनापति महारथी श्री गुरुङ्ग उक्त सम्मेलनमा सहभागी हुन मिति २०६८ श्रावण ११ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । ४. वहाँलाई नेपालका लागि अमेरिकी महामहिम राजदुत Scott H. DeLisi र कायम मुकायम प्रधानसेनापति रथी श्री गौरवशम्सेर ज.व.रा.ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा हार्दिक स्वागत गर्नुभयो । सो अवसरमा नेपाली सेनाका रथीबृन्दलगायत नेपालस्थित विदेशी सैनिक सहचारीहरुले समेत स्वागत गर्नु भएको थियो ।