"नेपाल भ्रमण वर्ष २०२०" लाई सफल बनाउन छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न

१. आज मिति २०७६ आश्विन १६ गते माननीय उपप्रधान तथा रक्षामन्त्री श्री ईश्‍वर पोखरेलको प्रमुख आतिथ्यता तथा माननीय संस्कृती, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री श्री योगेश भट्टराई र प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको उपस्थितिमा नेपाल सरकारले घोषणा गरेको "नेपाल भ्रमण वर्ष २०२०" लाई सफल बनाउन प्रचार प्रसार गर्ने उद्देश्यका साथ नेपाली सेनाले जंगी अड्‍डामा बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्‍चालन गरेको छ ।

२. उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा बलाधिकृत रथी श्री शरद गिरीले स्वागत मन्तव्य राख्‍नुहुँदै कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । तत्पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय उपप्रधान तथा रक्षामन्त्री श्री पोखरेलले नेपाल सरकारको मिसन "नेपाल भ्रमण वर्ष २०२०" लाई सफल पार्नको साथै सहयोग पुर्‍याउन नेपाली सेनाले यस किसिमको कार्यक्रम आयोजना गरेकोमा नेपाली सेनाप्रति कृतज्ञता व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो । सोही कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले नेपाल सरकारको हरेक निर्णयलाई नेपाली सेनाले आफ्नो क्षमता र दक्षताले भ्याएसम्म सहयोग गर्दै आएको छ । यसै सिलसिलामा नेपाल सरकारले घोषणा गरेको "नेपाल भ्रमण वर्ष २०२०" कार्यक्रमलाई पनि प्रस्ताव भएका ईभेन्टहरु लगायत अन्य कार्यक्रमहरुमा समेत नेपाली सेनाको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

३. उक्त "नेपाल भ्रमण वर्ष २०२०" लाई भव्य, सभ्य र उत्कृष्ट ढंगबाट सफल बनाउन नेपाली सेनाले बलाधिकृत तथा बलाध्यक्ष रथीको कमाण्डमा २ वटा समितिको समेत गठन गरेको छ । उक्त समितिले "नेपाल भ्रमण वर्ष २०२०" लाई सफल बनाउनका लागि विभिन्‍न टिमका अधिकृत प्रतिनिधिहरुबाट प्रस्तुतिकरणका साथै देहायका प्रस्तावित मितिहरुमा निम्नानुसारको ईभेन्टहरु आयोजना गर्ने योजना रहेको जानकारी गराएका थिए ।

(क) एकिकरण पद यात्रा (UNIFICATION TRIAL TREKKING)

• २०७६ फाल्गुन २४ गते (7th March 2020)

(ख) OPEN ADVENTURE SPORTS COMPETITION

• CoAS High Altitude Tri-Adventure Competition- २०७७ वैशाख ३० गते (12th May 2020)

• CoAS International Tri-Adventure Competition- २०७७ आश्‍विन १ गते (17th September 2020)

(ग) MULTI NATIONAL JOINT MILITARY JUNGLE SAFARI AND MOUNTAIN TREKKING

• २०७७ भदौ र मंसिर महिनामा (September & December 2020)

(घ) PARA GLIDING (Multi National Military and Civilian)

• २०७६ माघ र २०७७ कार्तिक महिना (Pre World Cup – 2nd week of February 2020 and World Cup – Last week of October 2020)

• २०७६ पुष र २०७७ जेठ महिना (Recreational Paragliding Week 1st and 2nd week of January & 4th week of May)

(ङ) लिगलिगे दौड (Multi National Military)

• २०७७ कार्तिक महिना फुलपातीको दिन (23 October 2020)

(च) PEACE KEEPERS RUN FOR MEET AND FUN/SEMINAR

• २०७७ जेष्ठ १६ र १७ गते (29 May 2020- Peacekeeping Seminar and 30 May 2020- Run for Fun)

(छ) NEPAL MARATHON

• २०७७ कार्तिक १४ गते (30 Oct 2020)

(ज) MULTINATIONAL JOINT MILITARY EVEREST EXPEDITION

• २०७६ फाल्गुणदेखि २०७७ असार महिनासम्म (March to June 2020)

४. कार्यक्रममा रक्षा मन्त्रालय र संस्कृती, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका सचिव, विभिन्‍न मित्रराष्ट्रका राजदूतहरु, सैनिक सहचारी तथा पर्यवेक्षक, नेपाल प्रहरीका महानिरिक्षक, नेपाली सेनाका रथीवृन्द, सशस्त्र प्रहरीका अधिकृत प्रतिनिधि, नेपाली सेनाका अधिकृतलगायतको उपस्थिती रहेको थियो । यस प्रकारको छलफल तथा अन्तरक्रिया कार्यक्रमले "नेपाल भ्रमण वर्ष २०२०" सफल बनाउन तथा पर्यटन प्रबर्द्धनको लागि थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।