मित्रराष्ट्र बेलायतमा सञ्चालन भएको Exercise Cambrian Patrol 2019 मा नेपाली सेनालाई स्वर्ण पदक प्राप्त

१. मित्रराष्ट्र संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा मिति २०७६ असोज २४ गतेबाट सञ्चालन भएको "Exercise Cambrian Patrol 2019" मा नेपाली सैनिक टोलीले स्वर्ण पदक प्राप्त गरेको छ । उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाबाट प्रमुख सेनानी अशिम देव गुरुङ्गको नेतृत्वमा १० जनाको सैनिक टोली मिति २०७६ असोज ६ गते मित्रराष्ट्र संयुक्त अधिराज्यतर्फ प्रस्थान गरेको थियो ।

२. युद्धकालीन बिशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिबिधि समेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मुल्याङ्कन गरिन्छ । अत्यन्त कठिन भौगोलिक ईलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीहरूले २ दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित लगभग ५० किलोमिटर दूरी पार गर्ने क्रममा सहभागी टोलीको लडाईको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानहरूसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाईते–बिरामीको ब्यवस्थापन, बिस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमता लगायत रसायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता समेतका अनेकन दक्षताहरूको परीक्षण गरिन्छ ।

३. संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा बेलायती फौजका १०६ र नेपाल समेत अन्य ३४ देशका गरि कूल १४० सैन्य टोलीहरूको सहभागिता रहेको थियो । साथै उक्त अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व श्री विशेष फौज बाहिनी, श्री पशुपति प्रसाद गण र गौरीबक्स गुल्मका टोलीले गरेको थियो । मित्रराष्ट्र संयुक्त अधिराज्यमा संचालन हुने सैनिक प्रतियोगिता Cambrian Patrol मा नेपाली सेनाको पेशागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्तिहरु सम्मिलित टिम सहभागी हुने गर्दछ । सन् १९६० बाट वार्षिक रुपमा मित्रराष्ट्र बेलायतमा संचालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको "Exercise Cambrian Patrol" प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ बाट भाग लिदैं आईरहेको छ ।

४. विगतमा विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट नतिजा हासिल गर्न नेपाली सेना सफल भईरहेको परिप्रेक्ष्यमा यस प्रकारको अत्यन्त व्यवसायिक, समर्पित, साहसी र संयमित फौजले मात्र पूरा गर्न सक्ने अभ्यासमा सहभागी हुन शुरू गरेको केहि वर्षभित्रै आफूलाई अब्बल प्रमाणित गर्दै पुनः स्वर्ण पदक जित्न सफल हुनुले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेनाको प्रतिष्ठा थप उच्च हुनुको साथै मित्रराष्ट्र बेलायत लगायत अन्य सहभागी सेनाबीच रहेको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ भएको विश्वास लिदै प्रतियोगिता आयोजना एवं सहभागिताको लागि नेपाली सेनालाई आमन्त्रण गर्ने बेलायती सेना तथा अभ्यासको तयारीको दौरान विविध सहयोग पुर्‍याउने बेलायती सेनाको ब्रिगेड अफ गोर्खाज प्रति नेपाली सेना धन्यवाद ज्ञापन समेत गर्दछ ।