नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित Hall of Fame Induction सम्मान कार्यक्रम सम्पन्‍न

१. आज मिति २०७६/०७/०१ गते नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित Hall of Fame Induction सम्मान कार्यक्रममा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र कुमार श्रेष्ठ (अ.प्रा.) सम्मानित हुनु भएको छ ।

२. उक्त सम्मान कार्यक्रम प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्‍न भएको थियो । सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीबाट स्टाफ कलेज तालिम सम्पन्‍न गर्नुभएका प्रधानसेनापति महारथी थापा नेपाली सेनाको पहिलो प्रधानसेनापति हनुहुन्छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक शेलेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र कुमार श्रेष्ठ (अ.प्रा.) ले पनि उक्त कलेजबाट स्टाफ कलेज तालिम सम्पन्‍न गर्नुभएको थियो । उहाँहरुको तस्वीर उक्त कलेजको Hall of Fame Wall मा सम्मान स्वरुप राखिएको छ ।

३. हाल स्टाफ कलेज शिवपुरीमा अध्ययनरत स्वदेशी तथा विदेशी शिक्षार्थी अधिकृतहरुलाई सम्बोधन गर्नुहुँदै प्रधानसेनापति महारथी थापाले कामको सिलशिलामा सफलता र नैरास्यता दुवै परिस्थितीको सामना गर्नु पर्ने तथा जस्तोसुकै विषम् तथा प्रतिस्पर्धात्मक परिस्थितीमा पनि ईमान्दार रही सहि ढंगबाट कार्य सम्पादन गर्न सुझाव दिनुभएको थियो । साथै उहाँले सैनिक जीवन पश्चातपनि मर्यादित जीवनयापन गर्न तथा आइपर्न सक्ने अकल्पनिय परिस्थितीको सफलतापूर्वक सामना गर्न समेत यस तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने कुरा बताउनु भएको थियो । सम्बोधन कै क्रममा उहाँले यस तालिमको उद्देश्य ज्ञान हासिल गर्ने मात्र नभई आजको बहुआयामिक परिस्थितिमा आई पर्ने विभिन्न चुनौतीहरुको सामना गर्न सक्ने सक्षम अधिकृत भई सहकार्यको बाटो खुल्ला गर्ने र तालिम पश्‍चात सैनिक संगठनको मध्यम तह स्टाफ तथा नेतृत्वको जिम्मेवारी वहन गर्न योग्य अधिकृत हुनेमा विश्‍वास समेत व्यक्त गर्नु भएको थियो ।

४. उक्त कलेजबाट हालसम्म ९७२ जना अधिकृतहरुले सफलतापूर्वक तालिम सम्पन्‍न गरिसक्नु भएको छ । जसमध्ये ७३ जना विभिन्‍न राष्ट्रका विदेशी अधिकृतहरु, ४८ जना अन्य सुरक्षा निकायका अधिकृतहरु रहनु भएको छ । नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजबाट स्टाफ कलेज तालिम सम्पन्‍न गर्नुभएका स्वदेशी तथा विदेशी अधिकृतको सम्मान स्वरुप नेपाली सेनामा पहिलो पटक आयोजना गरिएको उक्त कार्यक्रममा रक्षा सचिव, सैनिक श्रीमती संघका अध्यक्ष, बलाध्यक्ष रथी, अन्य सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका रथीवृन्द, त्रिभुवन विश्‍वविद्यालयका प्राध्यापक, सैनिक कमाण्ड तथा स्टाफ कलेजका पूर्व शिक्षाधिकृतहरु, तालिमरत शिक्षार्थी अधिकृतहरु लगायत नेपाली सेनाको अधिकृतहरुको उपस्थिती रहेको थियो ।