नेपाली सेना र United States Army Pacific (USARPAC) बीच NEPAL- US 2nd Land Forces Talk संचालन

मिति 2076 कार्तिक 6 र ७ गते नेपाली सेना र United States Army Pacific (USARPAC) बीच संचालन हुने दुईदिने NEPAL-US 2nd Land Forces Talk नेपाली सेनाको जंगी अड्डा परिसरमा संचालन भएको छ । पहिलो पटक २०७५ जेष्ठ महिनामा संचालन भएको यस कार्यक्रमको यो दोस्रो संस्करण हो ।

नेपाली सेनाका रथीवृन्द र अधिकृतहरु १९ जना तथा United States Army Pacific (USARPAC) को १६ (सोह्र) जनाको टोली सहभागी उक्त कार्यक्रमको उद्देश्य नेपाली सेनाको शान्ति स्थापना कार्यको क्षमता अभिबृद्धि, मानवीय सहयोग र विपद् प्रतिकार्य, फौज व्यवसायिकरणमा सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाले संचालन गर्दै आइरहेको सैनिक कारवाहीका अनुभवहरु आदान प्रदान गर्नु रहेको छ । उक्त कार्यक्रममा सहभागी हुन अमेरिकी सेनाका Major General Daniel F. McDaniel को नेतृत्वमा १६ (सोह्र) सदस्यीय टोली मिति 2076 कार्तिक 4 गते नेपाल आएको हो ।

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उक्त कार्यक्रममा सहभागी हुन United States Army Pacific (USARPAC) टिमको नेतृत्व गरी नेपाल आउनु भएका Major General Daniel F. McDaniel सँग आजै जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको थियो । उक्त भेटवार्ताको क्रममा दुई देश बीचका सेनाको पारस्परिक सम्बन्ध र पेशागत क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

यस प्रकारका कार्यक्रमहरुले दुई देशका सेना बीच रहँदै आएको सैनिक सम्बन्ध अझ प्रगाढ हुने र नेपाली सेनाको पेशागत क्षमतामा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।