सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानको लागि प्रहरी समक्ष उपस्थित गराईएको

१. मिति २०७६ कार्तिक १५ गते काठमाण्डौं जिल्ला टोखा नगरपालिका वडा नं.१० सामाखुशीस्थित खरीबोट ईलाकाबाट जुवामा संलग्न रहेको भनि नेपाल प्रहरीद्वारा पक्राउ गरी श्री सैनिक प्रहरी गण, जंगी अड्‍डामा बुझाइएका सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानको लागि आज मिति २०७६/०७/२४ गते प्रहरी समक्ष उपस्थित गराइएको छ । अनुसन्धानको लागि श्री महानगरीय प्रहरी वृत, महाराजगञ्‍जबाट सेनानी राजेन्द्र शाहीलाई उपस्थित गराइ दिनको लागि पत्राचार भई आएकोमा उक्त वृतमा उपस्थित गराइएको हो ।

२. गल्ती गर्ने जो कसैलाई पनि नियम बमोजिम कडा कारवाही गर्ने नीति नेपाली सेनाले अवलम्बन गर्दै आइरहेको सर्वविदितै छ । यस नीतिलाई थप प्रभावकारी बनाउन नेपाली सेनामा पुरस्कार र दण्ड सजाय सम्बन्धी निर्देशिका समेत लागू गरिएको छ । सोही बमोजिम गैर कानूनी कार्यमा संलग्न सैनिक व्यक्तिहरु उपर सैनिक ऐन बमोजिम कारवाही गरिने तथा अनुसन्धानको लागि प्रहरी प्रशासनबाट उपस्थित गराई दिन अनुरोध भई आएमा अनुसन्धानमा सहयोग पुर्‍याउन संलग्न सैनिक व्यक्तिलाई उपस्थित गराउने गरिएको छ ।