प्रधानसेनापतिद्वारा नेपाली सेना र मित्रराष्ट्र ईजरायली सेना बीच सञ्‍चालन भएको प्रतिआतंकवाद सम्बन्धी विशेष तालिमको निरीक्षण

१. प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज मिति २०७६ मंसिर ११ गते नेपाली सेनाको विशेष फौजको रुपमा रहेको श्री युद्धभैरव गण र मित्रराष्ट्र ईजरायली डिफेन्स फोर्स बीच उक्त गणमा सञ्‍चालन भएको प्रतिआतंकवाद सम्बन्धि विशेष तालिमको (Counter Terrorism Training) निरीक्षण गर्नु भएको छ । उक्त तालिम मिति २०७६ मंसिर ८ गतेबाट शुभारम्भ भई आज मिति २०७६ मंसिर ११ गते सैनिक तालिम तथा महानिर्देशकबाट सम्पन्‍न भएको छ ।

२. प्रतिआतंकवाद तथा एण्टिहाईज्याकिङ्ग सम्बन्धि कार्बाहीमा उत्कृष्ट मानिने ईजरायली काउण्टर टेरोरिजम टिमले लामो समयको अन्तरालपछि नेपाली विशेष फौजलाई उक्त तालिम सञ्‍चालन गरेको हो । उक्त तालिम निरीक्षणको क्रममा प्रधानसेनापति महारथी थापाले आतंकवाद तथा जटिल र संवेदनशील सुरक्षा चुनौतीहरुको सामना गर्न नेपाली सेना सक्षम रहेको र यस तालिमबाट दुवै देशका विशेष फौजहरुको पेशागत ज्ञान, सैनिक कला तथा Interoperability बढाउने अवसर प्रदान भएको बताउनु भएको थियो । उक्त कार्यक्रममा मित्रराष्ट्र ईजरायलका राजदुत बेनी ओमर, रथीवृन्द, अधिकृत लगायत सकलदर्जाको उपस्थिती रहेको थियो ।

३. मित्रराष्ट्रको सेनाहरुसँग समय समयमा सञ्‍चालन हुने यस किसिमको संयुक्त अभ्यासले पेशागत क्षमतामा अभिवृद्धि भई आतंकवाद/प्रतिआतंकवादको विषयमा थप जानकार भई संभावित आतंकवादबाट हुन सक्ने क्षति न्युनिकरण हुने तथा मित्र राष्ट्रहरुसँगको सैनिक सम्बन्ध अझ मजबूत र प्रगाढ हुने विश्‍वास नेपाली सेनाले लिएको छ ।