भक्तपुर नगरपालिकाद्वारा नेपाली सेनालाई मयुर झ्याल हस्तान्तरण गरेको सम्बन्धमा

१. आज मिति २०७६ मंसिर १८ गते जंगी अड्‍डामा एक कार्यक्रमबीच भक्तपुर नगरपालिकाले नेपाली सेनालाई सम्झनाको चिनो स्वरुप भक्तपुरको कला सस्कृती झल्किने मयुर झ्याल हस्तान्तरण गरेको छ । उक्त मयुर झ्याल प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले हस्तान्तरण गर्नुभएको हो ।

२. भक्तपुर जिल्लाको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हातामा रहेको ऐतिहासिक रानीपोखरीको मौलिकतासहितको जिर्णोद्वार तथा पुन: निर्माण र सैनिक आवासीय महाविद्यालयको पूर्व तर्फको खेल मैदान सर्वसाधारण युवाहरुलाई प्रयोग गर्नका लागि पुर्‍याएको योगदानको कदर गर्दै भक्तपुर नगरपालिकाले नेपाली सेनालाई उक्त मयुर झ्याल प्रदान गरेको हो । यस्तै सोही कार्यक्रममा नेपाली सेनाबाट पनि भक्तपुर नगरपालिकालाई धन्यवाद स्वरुप सम्झनाको चिनो प्रदान गरिएको थियो ।

३. उक्त कार्यक्रममा धन्यवाद मन्तव्य राख्‍नुहुँदै प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले भक्तपुर जिल्ला लगायत देशका विभिन्‍न क्षेत्रहरुमा त्यहाँको ऐतिहासिक महत्व, मौलिक सस्कृति, परम्परा र सम्पदाहरुको संरक्षण एवं सम्वर्द्धन गरी नागरिक सैनिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नका लागि विभिन्‍न कार्यहरु भइरहेको बताउनुभयो । साथै उहाँले नेपाली सेनाले पुराना ऐतिहासिक सम्पदा तथा इतिहासहरुको जगेर्ना गरी त्यसबारे राष्ट्रिय सेवादल तालिममार्फत् नयाँ पुस्तालाई जानकारी गराउँदै आएको बताउँनुहुँदै वातावरण तथा पर्यावरण संरक्षणका लागि समेत भक्तपुर नगरपालिकाले केही कार्यक्रम ल्याएमा सहकार्य गर्न नेपाली सेना तयार रहेको बताउनुभयो ।

४. कार्यक्रममा मन्तव्य राख्‍नुहुँदै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले नेपाली सेनाले कला, सस्कृतिले भरिपूर्ण भक्तपुरको जीर्ण अवस्थामा रहेको ऐतिहासिक रानीपोखरीको जिर्णोद्धार र संरक्षण गरी सर्वसाधारणको लागि खुल्ला गरेकोले जनता र सेनाबीचको सम्बन्धले नयाँ उचाइ लिएको बताउनुभयो । यसैगरि उहाँले २०७२ सालको विनासकारी भूकम्पमा भक्तपुरमा नेपाली सेनाले गरेको उद्दार लगायत कार्यको प्रशंसा गर्नुभई विपद्को बेला नागरिकहरुलाई कसरी जोगाउन सकिन्छ भनी हाल नेपाली सेनासँगको सहकार्यमा भक्तपुरका १२२ जना युवालाई विपद् व्यवस्थापन तथा उद्दार सम्बन्धी तालिम प्रदान गरिएकोले यस्ता कार्यहरुले जनता र सेनाबीचको सुमधुर सम्बन्धले निरन्तरता पाउने बताउनुभयो ।

५. नेपाली सेनाले प्रधानसेनापतिको ‘कमाण्ड मार्गनिर्देशन २०७५’मा निर्दिष्ट लक्ष्य अनुसार नेपाल र नेपाली सेनाको इतिहास प्रवर्द्धन गर्ने तथा नेपाली सस्कृति र परम्परा प्रवर्द्धनमा सहयोग पुर्‍याउनका लागि देशका विभिन्न ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थानहरुको संरक्षण तथा प्रवर्द्धन गर्दै आइरहेको छ । सो कार्यको निरन्तरता स्वरुप भक्तपुर सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरीको जिर्णोद्धार तथा संरक्षण गरी सर्वसाधारणको लागि खुल्ला गरेको हो । यस प्रकारको कार्यहरुबाट नागरिक सैनिक सम्बन्ध थप सुमधुर हुँदै जाने नेपाली सेनाले विश्वास लिएको छ ।

६. उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत वर्ग, भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत लगायत नगरका वडा अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।