छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न

१. आज मिति २०७६ मंसिर २३ गते श्री जनसम्पर्क तथा सूचना निर्देशनालयले जंगी अड्‍डामा विभिन्‍न मिडियाका सञ्‍चारकर्मीहरु र नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थितीमा "नेपाल भ्रमण वर्ष-२०२०", नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधिन काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजना र नेपाली सेनाले आयोजना गर्न लागेको सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिताको बारेमा जानकारी दिनको लागि सञ्‍चालन गरेको एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न भएको छ ।

२. उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्‍नुहुँदै जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी बिज्ञान देव पाण्डेले "नेपाल भ्रमण वर्ष-२०२०" नेपाल सरकारको मात्र लक्ष्य र कार्यक्रम नभई हामी सबैको साझा कार्यक्रम भएको बताउनुभयो । करिब २० लाख पर्यटक भित्र्याउने र नेपालको अर्थतन्त्रलाई ठोस र सकारात्मक योगदान पुर्‍याउने कार्यमा हामी सबैको साझा प्रयत्‍न आवश्यक रहेको बताउनु भयो । मन्तव्यको क्रममा उहाँले नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधिन काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको कार्य प्रगति साथै नेपाली सेनाले आयोजना गर्न लागेको सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिताको बारेमा संक्षिप्‍त जानकारी गराउनु भएको थियो ।

३. तत्पश्‍चात् "नेपाल भ्रमण वर्ष २०२०" कार्यक्रमलाई सफल तुल्याउन नेपाली सेनाले गर्ने कार्यक्रम, काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको हालसम्मको कार्य प्रगति र निकट भविष्यमा नेपाली सेनाले आयोजना गर्न लागेको सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिताको बारेमा सम्बन्धित रथीवृन्द तथा अधिकृत प्रतिनिधिहरुबाट प्रस्तुतिकरणमार्फत जानकारी गराइएको थियो ।

४. उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, रक्षा मन्त्रालयका प्रतिनिधिहरु, "नेपाल भ्रमण वर्ष-२०२०" मुल कार्यसमितिका प्रतिनिधि, विभिन्न मिडियाका सञ्‍चारकर्मीहरु तथा नेपाली सेनाका अधिकृतहरुको सहभागिता रहेको थियो ।

५. यस प्रकारको कार्यक्रमबाट सञ्‍चारकर्मी, आम नागरिक र नेपाली सेना बीचको आपसी सम्बन्ध अभिवृद्धि गर्न अझ टेवा पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।