बृहत संयुक्त घुम्ती स्वास्थ्य शिविरको शुभारम्भ

१. मिति २०७६ मंसिर २७ गतेदेखि पौष ०५ गतेसम्म नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सिरहा, सिन्धुली, महोत्तरी, सर्लाही र धनुषा जिल्लाका स्वास्थ्य उपचार पाउन नसकेका बिरामीहरुलाई लक्षित गरी प्रदेश नं.२ को महोत्तरी जिल्ला, सोन्मा गाउँपालिका, वडा नं.३ स्थित खक्ना उच्च माध्यमिक विद्यालयमा (मुख्य क्याम्प) तथा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्‍वरस्थित जलेश्‍वर अस्पतालमा सर्जिकल क्याम्प स्थापना गरी सञ्‍चालन गरिने बृहत निःशुल्क संयुक्त शल्य चिकित्सा घुम्ती स्वास्थ्य शिविरको आज मिति २०७६ मंसिर २७ गते पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्री सुरेन्द्रकुमार यादवले समुद्‍घाटन गर्नु भएको छ ।

२. स्वास्थ्य सेवाको पहुँचबाट टाढा रही प्रभावकारी चिकित्सा सेवा पाउन नसकेका बिरामीहरुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्ने उद्देश्यले सर्जरी, भिडियो एक्सरे, प्याथोलोजी ल्याब सेवासहित आयोजना गरिएको उक्त घुम्ती स्वास्थ्य शिविरमा आज मिति २०७६ मंसिर २७ गतेसम्ममा जनरल मेडिसिन, स्त्री रोग, आँखा, नाक, कान, घाँटी, चर्म रोग, हाडजोर्नी, बालरोग, स्वास प्रश्‍वासलगायत विभिन्न रोगका करिब १६९७ (एक हजार छ सय सन्तानब्बे) जना स्थानीय बासिन्दाहरुले स्वास्थ्य उपचारको लागि नाम दर्ता गराएका छन् ।

३. उक्त समुद्‍घाटन कार्यक्रममा प्रदेश नं. २ का माननीय मन्त्री तथा सांसदहरु, नेपाली सेनाका रथीवृन्द, अन्य विशेषज्ञ चिकित्सकहरु, विभिन्‍न मिडियाका सञ्‍चारकर्मीहरु, नेपाली सेनाका अधिकृत/डा. अधिकृतहरु र मेडिकल प्राविधिकहरुलगायत उल्लेख्य मात्रामा स्थानीय सर्वसाधारणको सहाभागिता रहेको छ । उक्त समुद्‍घाटन कार्यक्रमको तालिका अनुसार माननीय उपप्रधान तथा रक्षामन्त्री श्री ईश्‍वर पोखरेलले समुद्‍घाटन गर्ने योजना रहेता पनि मौसमको खराबीले गर्दा रक्षामन्त्री श्री पोखरेल समुद्‍घाटन कार्यक्रममा सहभागी हुन असमर्थ हुनु भएको जानकारी गराउँदछौं ।

४. यस किसिमको घुम्ती स्वास्थ्य शिविरले स्थानीय तहमा रहेका बिरामीहरुलाई निःशुल्क शल्यक्रिया तथा औषधीसहितको उपचार सेवा प्रदान गरी स्वास्थ्य समस्यालाई केही हदसम्म भएपनि निवारण गर्न सहयोग सिद्ध हुन गई सैनिक-नागरिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भुमिका खेल्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।