प्रधानसेनापतिद्वारा बृहत संयुक्त घुम्ती स्वास्थ्य शिविरको निरीक्षण भ्रमण

१. मिति २०७८६ मंसिर २७ गतेदेखि पौष ०५ गतेसम्म नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सिरहा, सिन्धुली, महोत्तरी, सर्लाही र धनुषा जिल्लाका स्वास्थ्य उपचार पाउन नसकेका बिरामीहरुलाई लक्षित गरी प्रदेश नं.२ को महोत्तरी जिल्ला, सोन्मा गाउँपालिका, वडा नं.३ स्थित खक्ना उच्च माध्यमिक विद्यालयमा (मुख्य क्याम्प) तथा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्‍वरस्थित जलेश्‍वर अस्पतालमा सर्जिकल क्याम्प स्थापना गरी सञ्‍चालन भएको बृहत निःशुल्क संयुक्त शल्य चिकित्सा घुम्ती स्वास्थ्य शिविरको आज मिति २०७६ मंसिर ३० गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. मिति २०७६/०८/२७ गते पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवद्वारा समुद्‍घाटन गरिएको उक्त घुम्ती स्वास्थ्य शिविरबाट मिति २०७६ मंसिर २९ गतेसम्म ८५१५ (पुरुष-४०३९ र महिला-४४७६) जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । सोहि क्रममा प्रधानसेनापति थापाले उक्त घुम्ती स्वास्थ्य शिविरको स्वास्थ्य उपचार सम्बन्धी गतिविधिहरुको जानकारी लिनु भई स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्य शिविरमा उपचारको लागि आएका स्थानीय सर्वसाधारणसँग अन्तरक्रिया समेत गर्नु भएको थियो ।

३. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति महारथी थापाले नं.२ प्रदेशका जनता स्वास्थ्य सेवामा कमजोर भएको हुनाले उहाँहरुको माग अनुसार यो स्वास्थ्य शिविर सञ्चालन गरेको र उक्त शिविरबाट तत्काल स्वास्थ्यको पहुँच पुर्‍याउन तथा भविष्यमा स्वास्थ्य प्रति ख्याल गर्नुपर्ने विषयमा सु-सूचित गराउन योगदान पुर्‍याएको बताउनु भएको थियो । उहाँले स्वास्थ्यमा आफै जागरुक हुनुपर्ने र रोगलाई लुकाएर राख्नु हुँदैन भन्ने सन्देश दिँदै नागरिक सैनिक सम्बन्ध विस्तारमा सहयोग पुर्‍याउने विश्‍वास समेत व्यक्त गर्नुभएको थियो ।

४. उक्त निरीक्षण भ्रमणमा प्रदेश सभाका सदस्य एवं जनप्रतिनिधिहरु, नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुललगायत रथीवृन्द तथा अधिकृतहरुको समेत सहभागिता रहेको थियो । भ्रमण पश्चात उहाँहरु आजै काठमाडौं फिर्ता हुनु भएको छ ।

५. यस किसिमको घुम्ती स्वास्थ्य शिविरले स्थानीय तहमा रहेका बिरामीहरुलाई निःशुल्क शल्यक्रिया तथा औषधीसहितको उपचार सेवा प्रदान गरी स्वास्थ्य समस्यालाई केही हदसम्म भएपनि निवारण गर्न सहयोग सिद्ध हुन गई सैनिक-नागरिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भुमिका खेल्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।