मित्रराष्ट्र अमेरिकाद्वारा नेपाली सेनालाई M-28 Skytruck हस्तान्तरण

१. आज मिति २०७६ पौष ०२ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा मध्य एयर बेश गौचर व्यारेकमा एक विशेष समारोहका बीच मित्रराष्‍ट्र संयुक्त राज्य अमेरिकाद्वारा सहयोग स्वरुप नेपाली सेनालाई प्राप्‍त M-28 Skytruck गोटा-२ हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण समारोहमा सो Skytruck को 'प्रतिकृति' अमेरिकी महामहिम राजदुत Mr. Randy Berry ले नेपाली सेनाका बलाधिकृत रथी शरद कुमार गिरीलाई हस्तान्तरण गर्नु भएको थियो।

२. उक्त हस्तान्तरण कार्यक्रमको शुभारम्भमा श्री सैनिक हवाई महानिर्देशनालयका निमित्त महानिर्देशक पाइलट सहायक रथी धनेन्द्र बहादुर शाहले स्वागत मन्तव्य राख्‍नु भएको थियो भने अमेरिकी महामहिम राजदुत Mr. Berry ले आफ्नो मन्तव्य राख्‍नुहुँदै यो सहयोगले नेपाली सेनाका लागि नेपालको मानवीय सहायता तथा विपद्‍ प्रतिकार्य सञ्‍चालन क्षमतामा व्यापक रुपान्तरण ल्याउने तथा नेपालको दीर्घकालिन दिगोपन, सुरक्षा र उत्थानशीलतालाई सशक्त बनाउनका लागि हाम्रो दुई देशबीचको सहकार्य तथा निकट साझेदारी प्रदर्शन भएको बताउनु भएको थियो ।

३. सोही अवसरमा धन्यवाद/समापन मन्तव्य दिनुहुँदै प्रधानसेनापति महारथी थापाले यस प्रकारको सहयोगले विपद्‍ व्यवस्थापनमा नेपाली सेनाको कार्यदक्षता अभिबृद्धि गर्न थप मद्दत पुग्ने एवं सहयोगको लागि मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो । साथै, भविष्यमा पनि दुई देश र सेनाका बीचमा हुने यस्ता किसिमका सहकार्यले थप मद्दत पुग्ने विश्‍वास समेत व्यक्त गर्नु भएको थियो ।

४. उक्त हस्तान्तरण कार्यक्रममा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाका लागि नेपाली महामहिम राजदुत डा.अर्जुन कुमार कार्की, नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुल तथा रथीवृन्द, रक्षा मन्त्रालयका सह-सचिव, अमेरिकी राजदुतावासका पदाधिकारीहरु, नेपाली सेनाका अधिकृतहरुलगायत सञ्‍चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

५. यस किसिमको सहयोगले नेपाली सेनाको उद्धार तथा राहत पुर्‍याउने कार्यमा थप मद्दत पुग्नुको साथै दुई देशबीचको द्विपक्षीय आपसी हीत र पारस्परिक सम्बन्ध अझ प्रगाढ हुने विश्‍वास नेपाली सेनाले लिएको छ ।