Hemodialysis सेवा उपलब्ध गराउने समझदारी पत्र (MoU) मा हस्ताक्षर

१. आज मिति २०७६ पौष ०२ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जङ्गी अड्‍डास्थित Grand Hall मा नेपाली सेना र काठमाण्डौं महानगरपालिका बीच काठमाण्डौ महानगरपालिकाका स्थानीय नागरिकहरुलाई श्री वीरेन्द्र अस्पताल, छाउनीमा Hemodialysis (मृगौला सम्बन्धी) सेवा उपलब्ध गराउने सम्बन्धको समझदारी पत्र (MoU) मा हस्ताक्षर गर्नुभएको छ ।

२. उक्त कार्यक्रममा महानगरपालिकाका मेयर शाक्यले यो ऐतिहासिक कार्यको थालनी भएको र भविष्यमा पनि नेपाली सेनासँगको सहकार्यमा यस्ता विविध कार्यक्रमहरु क्रमशः गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । सोही अवसरमा प्रधानसेनापति महारथी थापाले आफ्नो मन्तव्य राख्नुहुँदै नागरिक-सैनिक सम्बन्धलाई सेनाले अभियानको रुपमा लिई ''Go Green Campaign'' अन्तर्गत देशैभर तैनाथ फौजहरुलाई स्थानीय सरोकारवाला निकायहरुसँग सहकार्य गरी खाली जमिनमा वृक्षारोपण तथा स्थानीयको घर आँगनमा फलफुलका विरुवा रोप्ने कार्य, पुरातात्विक महत्वको मठमन्दिरहरुको जिर्णोदार तथा सरसफाई र व्यारेक घर तैनाथ हाताभित्र प्लाष्टिक निषेधित क्षेत्रको घोषणा गरि कार्यान्वयन गर्दै आइरहेको बताउनु भएको थियो ।

३. उक्त कार्यक्रममा बलाधिकृत रथी शरद कुमार गिरी, बलाध्यक्ष रथी गौरव तण्डुल, काठमाडौं महानगरपालिकाका उपमेयर तथा अन्य पदाधिकारीहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु र विभिन्‍न मिडियाका सञ्‍चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

४. यस प्रकारको समझदारीले नेपाली सेना र महानगरवासी बीच सदियौंदेखि रहिआएको नागरिक-सैनिक सम्बन्धलाई स्वास्थ्य उपचार जस्तो संवेदनशिल सेवाको माध्यमबाट थप प्रगाढ र सुमधुर बनाउने विश्‍वास नेपाली सेनाले लिएको छ ।