"एकीकरण मार्ग कार्यक्रम बृहत् सेमिनार-२०७६" को समापन

१. मिति २०७६/१०/०२ गतेबाट जंगी अड्डामा संचालन भएको तीन दिने "एकीकरण मार्ग कार्यक्रम बृहत् सेमिनार-२०७६" को आज मिति २०७६/१०/०५ गते माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रम बीच समापन गर्नु भएको छ ।

२. कार्यक्रम समापनको क्रममा माननिय उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सेमिनारमार्फत एकीकरण मार्ग कार्यक्रमसँग सम्बन्धित सरोकारवालाहरु, स्थानीय सर्वसाधारण, सुरक्षा निकाय तथा विषयसँग सम्बन्धित बुद्धिजिवीहरु बीचमा एकिकृत कार्य शैलीको विकास हुने विचार व्यक्त गर्नु भएको थियो । उहाँले स्थानीय स्तरमा ऐतिहासिक तथा पुरातात्विक विषयहरुमा ज्ञानको अभिवृद्धि हुन गई यस कार्यक्रमसँग सम्बन्धित दीर्घकालीन महत्व राख्‍ने भौतिक संरचना लगायत सबै प्रकारका दस्तावेजहरु र स्थलहरुको संरक्षण हुनुका साथै स्थानीय पर्यटनको विकासमा समेत ठूलो सहयोग पुग्ने बताउनु भएको थियो । सम्बोधनकै क्रममा उहाँले एकीकरण मार्ग कार्यक्रमको कार्यान्वयन पश्चात स्थानीय स्तरमा यातायत, संचार, विद्युत, शिक्षा, स्वास्थ्य तथा पर्यटनलगायत पूर्वाधारहरुको गुणस्तरिय विकास हुन गई स्थानीय व्यापार व्यवसाय र आर्थिक गतिविधिहरुमा समेत बृद्धि हुने विश्वास व्यक्त गर्नु भएको थियो । साथै उहाँले उक्त बहुआयामिक कार्यक्रमलाई दीर्घकालिन सोच राखेर विकास गर्न सकिएमा बृहत् राष्ट्रिय हितमा योगदान पुग्ने विचार राख्‍नु हुँदै नेपाल सरकारको आगामी नीति तथा कार्यक्रममा आवश्यक बजेट सहित सेमिनारबाट पारित भई प्रस्ताव हुने कार्यक्रमहरुलाई प्राथमिकतामा राख्‍न विशेष पहल गर्ने समेत बताउनु भएको थियो ।

३. नेपाली सेनाको पहलतामा शुरु भएको एकीकरण मार्ग कार्यक्रमलाई नेपाल सरकारका सवै सम्वद्ध मन्त्रालय/निकायहरु तथा गैरसरकारी निकायहरुसंग समेत समन्वय गरी अझ ब्यवस्थीत एवम् प्रभावकारी र एकीकृत रुपमा अगाडी बढाउने उद्देश्‍यले "एकीकरण मार्ग कार्यक्रम बृहत् सेमिनार-२०७६" आयोजना गरिएको हो । उक्त कार्यक्रमको परिकल्पना, उपादेयता, महत्व, हाल भईरहेका कार्यहरु तथा उपलब्धी र भविष्यमा गरिने कार्यक्रमको बारेमा गुरु योजना सहित एकिकृत कार्यक्रमको रुपमा अगाडी बढाउन आगामी आर्थिक बर्षको लागि समेत नेपाली सेना लगायत संघीय, प्रदेश र स्थानीय तहको तर्फबाट एकीकरण मार्ग कार्यक्रम सम्बन्धमा नेपाल सरकारको नीति तथा कार्यक्रममा योजनाहरु समन्वयात्मक रुपमा सम्पादन गरिने योजना रहेको छ । तीन दिनसम्म संचालन भएको उक्त कार्यक्रममा विभिन्न गढी, किल्ला, तथा संग्रहालय सम्बन्धी प्रस्तुतिकरण सहित Panel Discussion संचालन गरिएको थियो । साथै "अनुसन्धान प्रकाशन तथा प्रवर्द्धन समिति" को विज्ञबाट नेपाल एकीकरणको इतिहास पुस्तक लेखन सम्बन्धी प्रगति प्रतिवेदन प्रस्तुत तथा एकीकरण मार्ग कार्यक्रम सम्बन्धी वृत्तचित्र समेत प्रदर्शनी गरिएको थियो ।

४. कार्यक्रममा प्रधानसेनापति, नेपाल सरकारका सचिवहरु, भूतपूर्व प्रधानसेनापतिहरु, प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरु, विभिन्न मन्त्रालय तथा विभागहरुका महानिर्देशकहरु तथा निर्देशकहरु, इतिहासविद्, संस्कृतिविद्, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, सञ्चारकर्मी र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

५. यस प्रकारको कार्यक्रमले नेपाली सेनाका सवै तह लगायत सम्बद्ध सरकारी तथा गैर सरकारी निकायहरुले समेत ईतिहास संरक्षण, सम्वर्द्धन र प्रर्वद्धन गरी दिगो बिकासको लागि पर्यटन प्रर्वद्धन मार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउनुका साथै सम्बद्ध सवै सरोकारवालाहरुले एकीकरण मार्ग कार्यक्रमलाई समान रुपमा बुझ्न गई अपनत्व समेत महशुस गराउने विश्वास नेपाली सेनाले लिएको छ ।