नेपाली सेनाद्वारा खोज तथा उद्धार कार्य जारी (मिति २०७६ माघ ०८ गतेको १७०० बजेसम्मको अपडेट)

१. मिति २०७६ माघ ३ गते अन्नपूर्ण आधारशिविरको पदमार्गमा गएको हिमपहिरोमा परी हराइरहेका ४ जना कोरियन पर्यटकहरु तथा ३ जना नेपाली गाईडहरुको नेपाली सेनाको पोखरास्थित श्री सेकेण्ड रेञ्‍जर गणका गणपति सहितको उद्धार टोलीद्वारा मिति २०७६ माघ ७ गतेदेखि खोजी कार्य जारी राखेको छ । उक्त उद्धार टोलीलाई नेपाली सेनाको ईक्वेरल हेलिकोप्टरद्वारा घटनास्थलबाट करिब २० मिनेटको पैदल दुरीमा अवस्थित देउराली भन्ने स्थानसम्म पुर्‍याई हाल उक्त हेलिकोप्टर पोखरा विमानस्थलमा तैनाथ रहेको छ ।

२. उक्त खोज तथा उद्दार कार्यको लागि खट्टिएको नेपाली सेनाको उद्धार टोलीद्वारा कोरियन पर्यटकहरु हिम पहिरोमा परी पुरिएको भनिएको स्थानमा करिव 5 मिटर गहिराईसम्म खन्दा पनि हालसम्म केही फेला नपरेको र उक्त टोलीले नेपाली गाईडहरु पुरिएको भनि मार्क गरिएको सम्भावित स्थानमा समेत खोजी कार्य जारी राखेको छ । साथै हराईरहेका नेपाली गाईडका दुई जना आफन्तहरु समेतले उद्धार कार्यमा सहयोग गरिरहेका छन् ।

३. नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिईरहेको र सो सम्बन्धमा अन्य थप जानकारी तथा विवरणहरु प्राप्त भएपछि यहाँहरुलाई जानकारी गराईने व्यहोरा अनुरोध गरिन्छ ।