रक्षा अभिमुखिकरण कार्यक्रमको समापन

१. मिति २०७६ माघ ६ गतेदेखि जंगी अड्डामा श्री रक्षा मन्त्रालयमा कार्यरत नायब सुब्बादेखि उपसचिवसम्मका राष्ट्रसेवक कर्मचारीहरु सहभागी गराई संचालन भएको Defence Correspondent Orientation Programme (DCOP) को आज मिति २०७६ माघ १० गते श्री जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी बिज्ञान देव पाण्डेले जंगी अड्डामा आयोजित एक कार्यक्रम बीच समापन गर्नु भएको छ ।

२. समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्‍नु हुँदै सहायक रथी पाण्डेले विशिष्ट सैनिक पेशागत क्षमता, रहनसहन र सैनिक आचरणभित्र रहेर राज्यले सुम्पिएको कार्य सम्पादन गर्ने कार्यमा पुर्‍याउनु भएको सहयोग, सद्‍भाव तथा समन्वयको लागी नेपाली सेनाकोतर्फबाट श्री रक्षा मन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्नु भएको थियो । सम्बोधनकै क्रममा उहाँले यस कार्यक्रम पश्चात श्री रक्षा मन्त्रालयका नवनियुक्त कर्मचारीहरु सैनिक संगठनको बनावट, सैनिक गतिविधि र जिम्मेवारी बारे जानकार हुनु भएको विश्वास व्यक्त गर्नुहुँदै सहभागी सम्पूर्ण मन्त्रालयका कर्मचारीहरुलाई धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो । सो कार्यक्रममा श्री रक्षा मन्त्रालयका सह सचिव सन्त बहादुर सुनार तथा नेपाली सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो ।

३. राष्ट्रिय हित र सुरक्षा सम्बन्धी संवेदनशील विषयहरुलाई गहन रुपमा मनन् गरी रक्षा मन्त्रालय र नेपाली सेनाबीचको समझदारीलाई अभिवृद्धि गर्दै आपसी सम्बन्धलाई सकारात्मक तथा प्रभावकारी रुपमा अगाडि बढाउने कार्यमा श्री जनसम्पर्क तथा सूचना निर्देशनालयद्धारा संचालित यस कार्यक्रम सहयोगी शिद्ध भएको विश्वास नेपाली सेनाले लिएको छ ।