नेपाली सेनाको श्री सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा ''Dynamics of Insurgency in Nepal: Lessons for Sustainable Peace'' विषयक दुई दिवसीय सेमिनारको शुभारम्भ

१. आज मिति २०७६ फाल्गुण १ गते माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको श्री सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा संचालन भएको ''Dynamics of Insurgency in Nepal: Lessons for Sustainable Peace'' विषयक दुई दिवसीय सेमिनारको एक विशेष कार्यक्रमका बीच समुद्‍घाटन गर्नु भएको छ ।

२. उक्त सेमिनारको समुद्‍घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पोखरेलद्वारा शान्ति सुरक्षाको बहाली र यसको भरपर्दो व्यवस्थापनमा अहोरात्र खटेको नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनाको लागि खेलेको भूमिकाको प्रशंसा गर्नुहुँदै प्राकृतिक तथा अन्य विपतीहरुमा उद्धार, राहत र दिगो समाधानको निम्ति नेपाली सेनासँग भएको अनुभव अन्य देशको लागि समेत उपयोगीसिद्ध हुने विचार व्यक्त गर्नु भएको थियो । उहाँले आजको सन्दर्भमा रोजगारी, विपन्‍नता र जलवायु परिवर्तन जस्ता मानवीय असुरक्षाका कारण मुलुकको सामाजिक, आर्थिक र भौतिक सुरक्षा माथि खतरा उत्पन्‍न गरेको र यस प्रकारको खतरालाई क्रमशः न्यून गर्दै 'समृद्ध नेपालः सुखी नेपाली ' को उद्देश्यलाई परिपूर्ति गर्ने कार्यमा नेपाल सरकार क्रियाशील रहेको बताउनु भएको थियो ।

३. सम्बोधनकै क्रममा उहाँले मानव स्वतन्त्रता र मानव अधिकारको संरक्षण र सम्बर्द्धन गर्ने संस्कारको विकास गर्दै गएमा सामाजिक र आर्थिक प्रगतिमा टेवा पुग्ने तथा आम समुदायमा सन्तुष्टी र खुसी पैदा भई आर्थिक असमानता र सामाजिक विभेद हट्ने र फलस्वरुप सामाजिक र सशस्त्र विद्रोहको अवस्था नआउने बताउनु भएको थियो । कुनै पनि कारणले हुन सक्ने सशस्त्र विद्रोहलाई रोक्ने र दिगो शान्ति ल्याउने प्रयोजनका लागि समय सुहाँउदो अवधारणा र ढाँचा तयार गर्नु आवश्यक रहेको र यो उद्देश्य पुरा गर्ने कार्यमा सेमिनार सफल हुने छ भन्ने विश्वास व्यक्त गर्नु भएको थियो । अन्त्यमा उहाँले सेमिनारको सफलताको कामना व्यक्त गर्नु भएको थियो ।

४. कार्यक्रममा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मी राज पाण्डे, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द र अधिकृतहरु, त्रिभुवन विश्व विद्यालय तथा रक्षा कुटनीति क्षेत्रका विषयमा विज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वहरु अन्य सुरक्षा निकायका पदाधिकारीहरु, संचारकर्मीहरु तथा उक्त कलेजमा संचालन भईरहेको कमाण्ड तथा स्टाफ तालिमका शिक्षक लगायत तालिमरत स्वदेशी तथा विदेशी शिक्षार्थीहरुको उपस्थिती रहेको थियो ।

५. यस प्रकारको सेमिनारबाट बदलिँदो समय र भूगोल सुहाउँदो प्रतिविद्रोह सम्बन्धी अवधारणा र सो सम्बन्धी राय सुझाव प्राप्त हुन गई भविष्यमा आइपर्न सक्ने सुरक्षा चुनौतिहरुको सामना गर्न सहयोगीसिद्ध हुने विश्वास नेपाली सेनाले लिएको छ ।