सम्माननीय प्रधानमन्त्रीद्वारा सि.सं.१५ सिनियर डिभिजन NCC तालिमको दीक्षान्त कवाजको निरीक्षण

१. आज मिति २०७६ फाल्गुण २ गते सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले लगनखेलस्थित श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको ग्राउण्डमा आयोजित सि.सं.१५ सिनियर डिभिजन National Cadet Corps (NCC) तालिमको दीक्षान्त कवाज निरीक्षण गर्नु भएको छ ।

२. दीक्षान्त कवाज समारोहमा सम्बोधन गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री ओलीले नेपाल सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमले युवाहरुलाई अनुशासित, मर्यादित, मुलुकप्रति सर्मपित र राज्यका संस्थाहरुप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउने साथै विपद्को उच्च जोखिम भएको हाम्रो राष्ट्रमा विपत्तीहरुको समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको बताउनु भएको थियो । राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक समेत रहनु भएका सम्माननीय प्रधानमन्त्री ओलीले राष्ट्रलाई आवश्यक परेको बेलामा निस्वार्थ सेवा भावबाट समर्पित भई एक सच्चा नेपाली नागरिकका रुपमा महत्वपूर्ण नेतृत्वदायी भुमिका निर्वाह गर्ने कार्यमा तालिमको दौरान हासिल गरेका ज्ञानले उक्त कार्यको लागि अभिप्रेरित र सहयोग गर्नेमा विश्वस्त रहेको समेत बताउनु भएको थियो ।

३. नेपाली सेनाले नेपाल अधिराज्य भरिका विभिन्न निजी तथा सरकारी विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरु सहभागी गराई यो तालिम बि.सं. २०२२ बाट सञ्चालन गर्दै आईरहेको छ । सो क्रममा हालसम्म कुल ५१,३३२ (एकाउन्‍न हजार तीन सय बत्तिस) जना क्याडेट छात्रछात्राहरुले सफलतापूर्वक उक्त तालिम हासिल गरिसकेका छन् । आजको उक्त दीक्षान्त कार्यक्रममा १२ वटा विद्यालयहरुका ५०९ जना क्याडेट छात्रछात्राहरु दिक्षित भएका हुन् । श्री राष्ट्रिय सेवा दलले शिक्षा मन्त्रालयसँगको समन्वयमा विद्यालय तथा विद्यार्थीहरु छनौट गरी एकसय दिनको तालिम संचालन गर्दै आएको छ ।

४. सोही अवसरमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले क्याडेटहरुलाई दर्ज्यानी चिन्ह प्रदान, शिल्ड तथा पुरस्कार वितरण, विद्यालयहरुलाई प्रशंसा पत्र प्रदान गर्नुको गर्नु भएको थियो । कार्यक्रममा सेवादलका सह-संरक्षक एवं माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, विभिन्न मन्त्रालयका सचिवहरु, मित्रराष्ट्रका सैनिक सहचारीहरु, सुरक्षा निकायका उच्च पदस्थ अधिकृतहरु, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु लगायत सम्बन्धित विद्यालयका शिक्षक र अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

५. यस किसिमको तालिमबाट क्याडेट छात्र/छात्राहरुको मानसिक र वैचारिक परिपक्‍वता तथा नेतृत्व विकास क्षमतामा अभिवृद्धि भई राष्ट्रपति समर्पित असल नागरिक निर्माणमा थप टेवा पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।