'महाशिवरात्री तथा सेना दिवस - २०७६' सम्पन्‍न

१. आज मिति २०७६ फाल्गुन ९ गते सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमहरुको आयोजना गरी ‘महाशिवरात्री तथा सेना दिवस - २०७६’सम्पन्न भएको छ । सेना दिवसको शुभ अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नु भई वीर शहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्नु भएको थियो । सोहि क्रममा नेपाली सेनाले सम्माननीय राष्ट्रपतिको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।

२. सेना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरद्वारा ‘महाशिवरात्री तथा सेना दिवस – २०७६’ अंकित व्यानर प्रदर्शन तथा पुष्पवृष्टी गरिए पश्चात षट्कोण फर्मेशन तथा नेपालको राष्ट्रिय झण्डाको आकृति समेत निर्माण गरी राईफल र तोपबाट महाशिवरात्रीको बढाइँ गरिएको थियो । सैनिक युद्धकला, शहरी इलाकामा ठूला र अग्ला भवनहरुमा हुने आगलागिको बेला फसेको व्यक्तिहरुलाई हेलिकप्टर तथा उद्धार सम्बन्धी विशेष कलाको प्रयोग गरी उद्धार, मार्च पाष्ट, खुकुरी नृत्य, विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षण सम्बन्धी विभिन्‍न हात/हतियार, भेहिकल तथा उपकरणहरुको प्रदर्शन गरिएको थियो । प्रत्येक वर्ष आयोजना गरिदै आएको फ्रि-फल जम्प प्रतिकुल मौसमका कारण आजको कार्यक्रममा समावेश गरिएको थिएन ।

३. सेना दिवसकै अवसरमा प्रमुख अतिथि सम्माननीय राष्ट्रपतिद्वारा नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही बार्षिक २०७६’को विमोचन गर्नुका साथै मिति २०७६ फाल्गुन ६ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाबाट भएको निरीक्षणको क्रममा संचालन भएको फ्रि-फल जम्पमा प्रथम हुने कार्य हुद्दा लक्ष्मण बजगाई र द्वितिय हुने जम. राम बस्नेतलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

४. 'महाशिवरात्री तथा सेना दिवस २०७६' को अवसरमा प्रधानसेनापति प्रशंसा निशान तथा प्रधानसेनापति प्रशंसा पत्र प्राप्त गर्नेहरुमा रथीवृन्द तथा अधिकृत १५५ जना, पदिक तथा अन्यदर्जा ११४ जना, अवकाश प्राप्त पदिक १ जना, अन्यदर्जा मरोणपरान्त १ जना, कोरोना टाक्स फोर्समा कार्यरत अधिकृत, पदिक र अन्यदर्जा १९ जना रहेका छन् । यस्तै १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागी त्रिभुवन आर्मी क्लबका खेलाडिहरु १०६ जना, ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७६ मा सहभागी सैनिक खेलाडिहरु तथा करारमा रहेका खेलाडिहरु गरी ३५ जना, सरकारी तथा गैर सरकारी व्यक्तिहरु ३८ जना, युद्धकार्य तयारीपन निरीक्षणमा प्रथम भएको पृतना र बाहिनी २ र गैर सैनिक निकाय २ रहेका छन् । साथै सोही अवसरमा प्रधानसेनापति महारथी थापाले निम्नानुसार निशान, ट्रफी तथा पुरस्कारहरु वितरण गर्नु भएको छ ।

• श्री कालीरक्षा गण (ई) र श्री कीर्तिदल गणलाई निशान झण्डा,

• २०७५ सालको युद्धकार्य तयारीपन निरीक्षणमा प्रथम भई प्रधानसेनापति व्यानर प्राप्त गर्ने श्री श्रीजंग गण

• प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गणतर्फ प्रथम भएको श्री बटुकदल गण र गुल्मतर्फ श्री हनुमानध्वज गुल्मलाई प्रकृति संरक्षण ट्रफी,

• शारीरिक तन्दुरुस्ती परीक्षामा पुरुष तर्फ प्रथम भएका सह-सेनानी अजयजंग सुवेदी र महिला तर्फ प्रथम भएकी सह सेनानी देवी कुमारी पुनलाई पुरस्कार,

• प्रधानसेनापति सफल लघुवित्त उद्यमी सम्मान २०७६ मा महिलातर्फ प्रथम हुन सफल स्व.जम बाल कुमार पौडेल (अ.प्रा.) को श्रीमति सिर्जना पौडेल खत्रीलाई र पुरुषतर्फ प्रथम हुन सफल जम. टेक बहादुर ओली (अ.प्रा.) लाई पुरस्कार तथा प्रधानसेनापति उत्कृष्ट उद्यमी २०७६ बाट महा सेनानी प्रकाश आचार्य (अ.प्रा.) लाई सम्मान तथा पुरस्कार

• प्रधानसेनापती उत्कृष्ट कृषकबाट हुद्धा डबल बहादुर बस्नेत (अ.प्रा.) सम्मानित तथा पुरस्कार,

• प्रमुख सेनानी स्व.ईन्द्र बहादुर कुंवरलाई सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान २०७६ बाट सम्मानित तथा पुरस्कार,

• प्रधानसेनापति उत्कृष्ट समाज सेवा सम्मान २०७६ बाट सुवेदार धन बहादुर खड्का (अ.प्रा.) लाई पुरस्कार

• सैनिक ड्रिल प्रतियोगिता-२०७६ मा प्रथम हुन सफल श्री मध्य पृतना हे.क्वा. तथा द्धितिय श्री पश्चिम पृतना हे.क्वा.लाई पुरस्कार

• मानार्थ उप सेनानी दर्जामा पदोन्नति हुनुहुने ७७ जना पदिकहरुमध्ये उपस्थित २९ जनालाई दर्ज्यानी चिन्ह प्रदान,

• १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा राष्ट्रको गौरव र गरिमा बढ्ने गरी विभिन्‍न पदकहरु जित्‍न सफल नेपाली सेनाका सकलदर्जालाई पुरस्कार

५. आज सम्पन्न 'महाशिवरात्री तथा सेना दिवस २०७६' कै अवसरमा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, माननीय उपप्रधान एवं रक्षा मन्त्री, मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरु, मित्रराष्ट्र बेलायती सेनाका सेनाध्यक्ष, नेपाल सरकारका सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका अन्य विशिष्ट पदाधिकारीहरु, विभिन्न विदेशी दुतावासका महामहिम राजदुतहरु, नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, विभिन्न मुलुकहरुका सैनिक सहचारीहरु, सञ्चारकर्मीहरुलगायत ठूलो संख्यामा परिवारजन तथा सर्वसाधारणहरुको समेत उपस्थिति रहेको थियो ।