सि.सं.२६ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्‍न

१. आज मिति २०७६ फाल्गुन १३ गते शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको सि.सं.२६ कमाण्ड तथा स्टाफ तालिमको प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा एक विशेष समारोहका बीच दीक्षान्त समारोह सम्पन्‍न भएको छ ।

२. उक्त तालिममा नेपाली सेनाका तर्फबाट ५० जना अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ गरी ३ जना अधिकृतहरुलगायत मित्रराष्ट्र बंगलादेश, भारत, चीन, कोरिया, लेवनान, माल्दिभ्स, नाईजेरिया, पाकिस्तान, श्रीलङ्का र संयुक्त राज्य अमेरिकाबाट १/१ जना गरी १० जना विदेशी शिक्षार्थी सहित जम्मा ६३ जना अधिकृतहरुले सो तालिम सफलतापूर्वक सम्पन्‍न गरी आज दिक्षित हुनु भएको छ । सि.सं.१७ (सन् २०१०) बाट विदेशी शिक्षार्थीहरु सहभागी गराईएको उक्त तालिममा हालसम्म विभिन्‍न देशका ८३ जना विदेशी शिक्षार्थीहरु दिक्षित भईसकेका छन् ।

३. उक्त तालिमको Masters in Strategic Studies (MSS) Programme मा नेपाली सेनाका सेनानी रविन्द्र थापा प्रथम हुनु भएको छ भने सोही विषयको अध्ययनमा गरिने सोधपत्र (Thesis Work) अर्थात् Commandant's Paper तर्फ सेनानी रविन्द्र थापा र सह सेनानी माधव खड्का संयुक्त रुपमा प्रथम र तालिमको सर्वोत्कृष्ट शिक्षार्थी सेनानी चित्र कुमार कार्की हुनु भएको छ । उक्त दीक्षान्त समारोहमा प्रधानसेनापति महारथी थापाले कमाण्ड तथा स्टाफ तालिममा सर्वप्रथम हुनु भएका नेपाली सेनाका सेनानी चित्र कुमार कार्कीलाई 'सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार' (Best Student Award) प्रदान गर्नुको साथै दिक्षित हुनु भएका सबै शिक्षार्थी अधिकृतहरुलाई 'PSC' (Passed Staff College) प्रमाण-पत्र वितरण गर्नुभएको थियो । सोही अवसरमा उहाँले उक्त कलेजबाट वार्षिक रुपमा प्रकाशन गरिने 'दि शिवपुरी' जर्नलको २१औं संस्करण विमोचनसमेत गर्नुभएको थियो । सोही क्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा.धर्मकान्त बास्कोटाले MSS Programme तर्फ सर्वप्रथम हुनुहुने शिक्षार्थी सहित उत्तीर्ण सबै स्वदेशी तथा विदेशी शिक्षार्थी अधिकृतहरुलाई प्रमाण-पत्र वितरण गर्नुभएको थियो । त्यसैगरी, उक्त कलेजका शिक्षाधिकृत उपरथी इश्वर हमालले सोध पत्रमा प्रथम स्थान हासिल गर्ने शिक्षार्थीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको प्रतिक तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

४. उक्त दीक्षान्त समारोहको दौरान कार्यक्रमको शुभारम्भमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाधिकृत उपरथी हमालले स्वागत मन्तव्य राख्‍नु भएको थियो । साथै त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा.धर्मकान्त बास्कोटाले दिक्षित हुनु भएका सबै शिक्षार्थी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै उक्त तालिमबाट प्राप्त भएको ज्ञानले भविष्यमा आइपर्न सक्ने चुनौतीको सामना गरी आफ्नो जिम्मेवारी पूरा गर्न सहजता प्रदान गर्ने विश्‍वास व्यक्त गर्नु भएको थियो । कार्यक्रमको दौरान प्रधानसेनापति महारथी थापाले दीक्षित हुनुभएका अधिकृतहरुलाई सम्बोधन गर्नुहँदै उक्त तालिम सहभागी सबैको लागी कोशेढुङ्गा सावित हुने र हालको परिवर्तनशिल विश्‍व समाज र आधुनिक सैनिक अपरेशनमा स्टाफ तथा कमाण्डको हैसियतले आवश्यक पर्ने विश्लेषणात्मक योजना तथा संचार कौशल सम्बन्धी यथेष्ट ज्ञान हासिल भएको विश्‍वास व्यक्त गर्नु भएको थियो । यस तालिमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई थप मजबुत बनाउन समेत गहन भूमिका खेलेको बताउनु भएको थियो । साथै नेपाली सेनामा यस तालिमको महत्व, आवश्यकता, औचित्य र प्रभावकारीताको बारेमा समेत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

५. उक्त कार्यक्रममा रक्षा सचिव, बलाधिकृत तथा बलाध्यक्ष रथीवृन्द, सशस्त्र प्रहरी महानिरीक्षक, विदेशी सैनिक सहचारीहरु, बरिष्ठ प्राध्यापकहरु, विभिन्‍न विषयका प्राज्ञहरु लगायत नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, स्टाफ कलेजका पूर्व शिक्षाधिकृतहरु, नेपाली सेनाका सेनानी समूहलगायत शिक्षार्थी अधिकृतहरुको परिवारजनको समेत उपस्थिती रहेको थियो ।