एकताको लागी दौड Unity Run (Birgunj Marathon) सम्पन्‍न

१. आज मिति २०७६/११/१७ गते प्रदेश नं.२ का माननीय मुख्य मन्त्री लाल बाबु राउतको प्रमुख अतिथ्यतामा "सेना दिवस-२०७६" को उपलक्ष्यमा नेपाली सेनाको श्री मध्य पृतना हे.क्वा., श्री मध्य पूर्वी पृतना हे.क्वा., श्री नं.२८ बाहिनी अड्डा, श्री वीरगंज महानगरपालिका तथा "नेपाल भ्रमण वर्ष २०२०" (Visit Nepal Year 2020) प्रदेश नं.२ को संयुक्त सहकार्य तथा आयोजनामा "स्वच्छ देश स्वस्थ मधेश" भन्‍ने नारा सहित एकताको लागी दौड Unity Run (Birgunj Marathon) कार्यक्रम सम्पन्‍न भएको छ ।

२. देशभरीका करिब ५००० जना महिला तथा पुरुषहरुको सहभागीता रहेको उक्त म्याराथनमा प्रदेश नं.२ का माननीय मुख्य मन्त्री लाल बाबु राउतबाट प्यारा ईभेन्ट (१ कि.मि.) र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाबाट २१ कि.मि. खुल्ला महिला तथा पुरुष दौड र त्रिभुवन आर्मी क्लबका अफिसियलहरुबाट अन्य विधाका दौडहरुको विधिवत रुपमा कार्यक्रमको शुभारम्भ गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्य मन्त्री, प्रधानसेनापति महारथी थापा, श्री वीरगंज महानगरपालिकाका मेयर, श्री मध्य पृतना हे.क्वा. तथा श्री मध्य पूर्वी पृतना हे.क्वा.का पृतनापतिहरु, विशिष्ट पाहुनाहरु लगायत अन्य सहभागीहरुले ५ कि.मि.Heritage Walk मा सहभागीता जनाउनु भएको थियो ।

३. उक्त एकताको लागी दौड Unity Run (Birgunj Marathon) मा ५ कि.मि. दौड (कक्षा ८-१०) मा छात्रतर्फ युवराज लिम्बु र छात्रातर्फ फूलनाज खातुनले प्रथम स्थान, ५ कि.मि. दौड (कक्षा ११-१२) मा छात्रतर्फ नारायण कुमार कुस्मा र छात्रातर्फ अन्जु खड्काले प्रथम स्थान हासिल गर्न सफल हुनु भएको थियो । यसैगरि ५ कि.मि. दौड ४० वर्षभन्दा माथिका गैर सैनिक व्यक्तिहरुतर्फ जय नरेश सिंहले प्रथम स्थान हासिल गर्नु भएको थियो । साथै, १० कि.मि. खुल्ला दौड गैर सैनिक विधाको पुरुषतर्फ सागर श्रेष्ठ र महिलातर्फ सकुन्तला ठगुन्‍नाले प्रथम स्थान हासिल गर्न सफल हुनु भएको थियो भने सोहि विधाको विभागियतर्फ नेपाली सेनाका जमदार कल्याण बानियाँ (पुरुषतर्फ) र सिपाही पूर्ण लक्ष्मी न्यौपाने (महिलातर्फ) प्रथम हुनु भएको थियो । प्यारा इभेन्टतर्फ सन्तोष महत्तोले प्रथम स्थान हासिल गर्न सफल हुनु भएको थियो । २१ कि.मि. खुल्ला हाफ म्याराथनको पुरुषतर्फ सिपाही गजेन्द्र राई र महिलातर्फ राजपुरा पछाई प्रथम हुनु भएको थियो भने उहाँहरुलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नगद रु.७५,००० (पचहत्तर हजार) तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । यसैगरि ४२ कि.मि. खुल्ला म्याराथनमा प्रथम हुनु भएका नेपाली सेनाका अमल्दार खगेन्द्र भाटलाई प्रदेश नं.२ का माननीय मुख्य मन्त्री राउतले नगद रु. १,२५,००० (एक लाख पच्चिस हजार), टि.भि.एस. मोटरसाईकल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

४. यस प्रकारको प्रतियोगिताबाट नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमलाई समेत थप टेवा पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको छ ।