प्रधानसेनापतिद्वारा शान्ति स्थापनार्थ लेवनान खट्टिई जाने फौजको निरीक्षण

१. आज मिति २०६८ भाद्र ०७ गते प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ United Nations Interim Force in Lebanon (UNIFIL) मा तैनाथ हुनजाने श्री चण्डिदल गण (शान्ति सेना) ५० औं डफ्फाद्वारा पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरेको Pre Deployment तालिमको निरीक्षण गर्नुभयो । २. उक्त अवसरमा प्रधानसेनापति महारथी श्री गुरुङ्गले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवद्वारा दिईएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । उक्त सन्देशमा वर्तमान अवस्थामा कतिपय राष्ट्रहरु आन्तरिक विद्रोह, राष्ट्रिय कलह र धार्मिक सघर्षमा रुमल्लिरहेको अवस्थामा नेपाल सरकारको प्रतिवद्धता बमोजिम विश्व शान्तिका लागि नेपाली सेनाले देखाएको समर्पण भाव र सेवा उदाहरणीय रहेको कुरा कुरा उल्लेख गरिएको छ । साथै सन्देशमा पेशागत दक्षताको आधारमा मानवअधिकारको उच्च सम्मान, प्रजातान्त्रिक मान्यता र असल आचरणका साथै मानवीय सहयोगको भावना राखी नेपालको शान्तिप्रतिको प्रतिवद्धता संसारमा फैलाउन सफल हुनेमा आफु विश्वस्त रहेको समेत उल्लेख छ । ३. सोही अवसरमा प्रधानसेनापति महारथी श्री गुरुङ्गले शान्ति सैनिकहरुलाई सम्बोधन गर्नुहुंदै निःस्वार्थ भावनाले अनुशासित भई ज्यानको समेत पर्वाह नगरी आ–आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी नेपाल र नेपाली सेनाको छविलाई अन्तर्राष्ट्रिय जगतमा उजागर पार्न हरप्रयास गर्नुहुने विश्वास लिएको बताउनु भयो । ४. उक्त कार्यक्रममा रक्षासचिव श्री नविन घिमिरे, बलाध्यक्ष रथी श्री गौरव शम्शेर ज.व.रा.लगायत नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।