रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्‍न

१. श्री सुदुर पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी बालकृष्ण कार्कीले मिति २०७६ चैत्र ०२ गते उक्त पृतना हे.क्वा. अन्तरगत श्री नं.५ बाहिनी अड्डा, तेघरी व्यारेक, धनगढीमा समुद्‍घाटन गरी शुभारम्भ गर्नु भएको पाँच दिने रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रमको आज मिति २०७६ चैत्र ०६ गते श्री नं.५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी होमनाथ दवाडीले एक कार्यक्रम बीच समापन गर्नु भएको छ ।

२. नेपाली सेना सम्बन्धी जानकारीमूलक कक्षा संचालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सञ्‍चालन भएको उक्त कार्यक्रममा बझाङ्ग, कञ्‍चनपुर, कैलाली, अछाम, डोटी, बाजुरा, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाका विभिन्‍न मिडिया हाउसमा कार्यरत १९ जना रक्षा संवाददाताहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्‍न विभागहरुको जिम्मेवारी, विविध गतिविधिहरु, अन्तरक्रिया लगायत नेपाली सेनाको विभिन्‍न युनिटहरुको स्थलगत भ्रमण समावेश गरिएको थियो ।

३. नेपाली सेनाले प्रत्येक वर्ष केन्द्रिय तथा सबै पृतना स्तरमा सञ्‍चारकर्मीहरुलाई समावेश गरी रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सञ्‍चालन गर्दै आइरहेको छ । यस प्रकारको कार्यक्रमले रक्षा संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।