नेपाली सेनाद्बारा COVID-19 Response App – Nepal (CRAN) तयार गरिएको सम्बन्धमा

1. हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-19) को प्रभावले नेपालमा पनि संक्रमण देखिएको र भविष्यमा महामारीका रुपमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सो रोगको रोकथाम, प्रतिकार र नियन्त्रण गर्ने कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने सन्दर्भमा Crowd Sourcing को अवधारणा अनुरुप सर्व-साधारणबाट सूचना प्राप्त गरि आकस्मिक सेवा प्रवाह गर्ने उद्देश्यले नेपाली सेनाले “COVID- 19 Response App – Nepal” नामक Mobile App तयार गरि प्रयोगमा ल्याएको छ ।

2. यस Mobile App को प्रयोगबाट सर्वसाधारणले आफ्नो परिवार, छर छिमेक तथा साथीभाईमा COVID-19 सम्बन्धि कुनै पनि लक्षण देखिएमा उक्त विवरण पठाउन मिल्ने व्यवस्था गरिएको छ । साथै, यस बिपद्को घडिमा जनमानसमा बिभिन्न किसिमका अफवाहहरुको फैलावट रोक्न र नेपाली सेनाको आधिकारिक सूचना प्रवाह गर्न समेत यो Mobile App ले सहयोग पुर्‍याउने छ । साथै यस Mobile App मार्फत प्राप्त हुने डाटाहरुलाई नेपाली सेनाले आवश्यक ब्यवस्थापन, बिश्लेषण तथा बिरामीसँगको पहुँच स्थापना गर्न प्रयोगमा ल्याउने छ ।

3. यस Mobile App नेपाली सेनाको आधिकारीक वेभ साईट http://www.nepalarmy.mil.np बाट डाउनलोड गर्न सकिने छ भने हाललाई यो App Android मोबाईल फोनको लागि मात्र तयार गरिएको छ र केहि दिनमा नै Apple Mobile Phone को लागि समेत तयार गरिने छ । साथै केहि समय पश्चात् Android Phone को लागि Google Play Store मा समेत समावेश गरिने छ । यस App को प्रयोग गर्न सुरुमा प्रयोगकर्ताले आफ्नो व्यक्तिगत विवरण उपलब्ध गराउनु पर्ने छ । तत् पश्चात् प्रयोगकर्ताले नेपाली सेनाले जारि गरेका सूचनाहरु सहज रुपमा प्राप्त गर्ने छन् । प्रयोगकर्ताले आफ्नो परिवार, छर छिमेक तथा साथी भाईमा COVID-19 सम्बन्धि कुनै लक्षण देखिएमा बिरामीको ब्यक्तिगत विवरण तथा लक्षणको विवरण उपलब्ध गराउन सक्नेछन् । बिरामीको लक्षणको विवरण प्रत्येक २४ घण्टामा एक पटक वा बिरामीको स्थितीमा परिवर्तन आएमा सोको विवरण पूनः अध्यावधिक गर्न अनुरोध गरिन्छ ।यस App को प्रयोगको बिधि तथा गोपनियताको नीतिको लागि नेपाली सेनाको वेभ साईट http://health.mil.np बाट समेत प्राप्त गर्न सकिनेछ।

4. नेपाल र नेपालीले व्यहोरेको हरेक विपत्तिहरुमा आमनागरिकको साथ र सहयोगमा नेपाल सरकारका सबै निकाय र संघ संस्थाहरु तथा नागरिक समाजसँगको सहकार्य ऐक्यवद्धताले यो राष्ट्रिय लडाई पनि जित्‍न सकिने कुरामा नेपाली सेना विश्वास राख्दछ । साथै कोरोना भाईरस (कोभिड-१९) निर्मुल पार्न आमनागरिकको स्वास्थ्य सुरक्षा तथा त्यससँग सम्बन्धित सबै विषयहरुमा भविष्यमा नेपाल सरकारले अङ्‍गीकार गर्ने सबै रणनीति तथा कार्यनीतिको कार्यान्वयनमा नेपाली सेनाले आफ्नो सम्पूर्ण शक्ति र क्षमताले योगदान दिने प्रतिवद्धता पनि व्यक्त गर्दछ ।