नेपाली सेनाद्वारा गरिएको भिडियो कन्फरेन्स सम्बन्धमा

१. आज मिति 2076 चैत्र २३ गते नेपाली सेनाले भिडियो कन्फरेन्समार्फत काठमाण्डौ-तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) परियोजनाको कार्य प्रगति विवरण र वर्तमान अवस्था, भावी योजना, डिजाईन तथा कन्सट्रक्सन सुपरिवेक्षणको लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनौट लगायत नेपाली सेनाले कोरोना भाईरस (कोभिड-19) रोकथाम, नियन्त्रण र प्रतिकार्य सम्बन्धमा हालसम्म गरेका कार्यहरु बारे जानकारी गराएको छ ।

२. नेपाल सरकार मन्त्री परिषद्को निर्णय बमोजिम राष्ट्रिय गौरवको काठमाण्डौ-तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) परियोजना मिति 2074 श्रावण 27 गते नेपाली सेनालाई हस्तान्तरण गरिएको विदितै छ । तोकिएको समयसिमा भित्र पारदर्शी र गुणस्तरिय रुपमा सम्पन्‍न गर्ने गरि समष्टिगत योजना अनुसार निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाई रहेको जानकारी गराईन्छ । उक्त राष्ट्रिय गौरवको परियोजनाको कार्य प्रगति विवरण, भावी योजना लगायत डिजाईन तथा कन्सट्रक्सन सुपरिवेक्षणको लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनौट सम्बन्धी विस्तृत विवरण यसैसाथ संलग्न राखी पठाईएको व्यहोरा जानकारी गराईन्छ ।

३. नेपाली सेनाले नेपालको संविधान र प्रचलित ऐन, नियम तथा नेपाल सरकारबाट निर्दिष्ट जिम्मेवारी अनुरुप देश र जनता प्रति बफादार रही उच्च मनोवलका साथ विबिध प्रकृतिका बिपद ब्यबस्थापनको गुरुत्तर दायित्व (Prime Responsibility) पूरा गर्दै आएको कुरा सर्वबिदितै छ । कोरोना भाईरस (कोभिड-19) रोकथाम, नियन्त्रण र प्रतिकार्यमा नेपाली सेनाले शुरुदेखि नै नेपाल सरकारको निर्देशन बमोजिम अग्रपंक्तिमा रही योगदान दिंदै आईरहेको छ । मित्रराष्ट्र चीनको वुहानबाट नेपाली विद्यार्थीहरुको उद्दार गरी क्वारेन्टिनको व्यवस्थापन, प्रदेश तथा स्थानीय तहमा क्वारेन्टिन र आइसोलेसन कक्ष निर्माण, COVID-19 Crisis Management Center- Operations (CCMC-Ops) मा समेत महत्त्वपूर्ण भूमिका निभाउदै आईरहेको जानकारी गराउँदछौ ।

४. सोही सम्बन्धमा मिति २०७६ चैत्र १६ गते नेपाल सरकार मन्त्री परिषद्द्वारा कोरोना भाईरस (कोभिड-१९) को रोकाथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधी, उपकरण तथा अन्य सामाग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरि आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार-सरकार (G to G) विधिबाट खरिद गर्ने निर्णय पश्चात नेपाली सेनाले आवश्यक प्रक्रिया द्रुत गतिमा अगाडि बढाएको छ । खरिद प्रक्रियाका दौरान विश्व स्वास्थ्य संगठन (WHO) द्वारा मान्यता प्राप्त सामाग्रीहरु मात्र खरिद गरिने, मध्यस्तकर्ताको प्रयोग नगरिने, गुणस्तरमा कुनै सम्झौता नगरिने, प्रतिस्पर्धात्मक शैलिद्वारा मुल्य निर्धारण गरिने, सामाग्री र यातायातको छुट्टाछुट्टै मुल्य निर्धारण गरिने र समय सिमाभित्र आपूर्तिकर्ताबाट आपूर्तिको व्यवस्था गरिने योजना रहेको छ । सो प्रक्रियालाई सार्वजनिक खरीद ऐन तथा नियामावलीहरुको परिधिभित्र रही पारदर्शी र मितव्ययी ढंगबाट व्यवस्था गर्न सर्वपक्षीय औषधी, उपकरण तथा स्वास्थ्य सामग्री खरीद व्यवस्थापन समिति गठन गर्ने योजना अनुसार कार्य अघि बढाईएको र खरिद गरिने सामाग्रीहरुको गुणस्तर निर्धारणका लागि विभिन्‍न मन्त्रालयका पदाधिकारीहरु सहितको गुणस्तर नियन्त्रण समितिको गठन गरि कार्य सम्पादन गर्ने योजना रहेको छ ।

५. नेपाल र नेपालीले व्यहोरेको हरेक विपत्तिहरुमा आमनागरिकको साथ र सहयोगमा नेपाल सरकारका सबै निकाय र संघ संस्थाहरु तथा नागरिक समाजसँगको सहकार्यले यो राष्ट्रिय लडाई पनि जित्‍न सकिने कुरामा नेपाली सेना विश्वास राख्दछ । साथै कोरोना भाईरस (कोभिड-१९) प्रतिकार्य लगायत आमनागरिकको स्वास्थ्य सुरक्षा तथा त्यससँग सम्बन्धित सबै विषयहरुमा भविष्यमा समेत नेपाल सरकारले अङ्‍गीकार गर्ने सबै रणनीति तथा कार्यनीतिको कार्यान्वयनमा नेपाली सेनाले आफ्नो सम्पूर्ण शक्ति र क्षमताले योगदान दिने प्रतिवद्धता व्यक्त गर्दछ ।