मित्रराष्ट्र चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीहरु प्राप्त भएको सम्बन्धमा

१. आज मिति २०७७ जेष्ठ ०६ गते नेपाली सेनाद्वारा मित्रराष्ट्र चीनबाट खरिद गरिएका कोभिड-१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि आवश्यक पर्ने औषधी, उपकरण तथा अन्य सामग्रीहरु नेपाल आईपुगेको छ ।

२. खरिद गरिएका स्वास्थ्य सामग्रीहरु मध्ये नेपाल वायु सेवा निगमको जहाजबाट आज मिति २०७७ जेष्ठ ०६ गते १८.७ टन स्वास्थ्य सामग्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याई पुर्‍याएको छ । साथै मिति २०७७ जेष्ठ ३ गते १० (दश) वटा कन्टेनरबाट २६५ क्युविक मिटर र आज मिति २०७७ जेष्ठ ०६ गते ५ (पाँच) वटा कन्टेनरबाट १७६ क्युविक मिटर स्वास्थ्य सामग्रीहरु स्थलमार्ग हुँदै नेपाल ल्याई पुर्‍याएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६ चैत्र १६ गतेको "कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधी, उपकरण तथा अन्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार-सरकार (Government to Government-G to G) विधिबाट खरिद गर्ने" निर्णय अनुसार अन्तर्राष्ट्रिय अभ्यास तथा प्रचलन अनुरुप प्रचलित सार्वजनिक खरीद ऐन तथा नियमावलीको परिधिभित्र रहि नेपाली सेनाले खरिद प्रक्रिया अघि बढाएको थियो ।

३. स्थलमार्गबाट प्राप्त भएका स्वास्थ्य सामग्रीहरु गौचर व्यारेकस्थित नेपाली सेनाको Warehouse मा दाखिला गरिसकिएको छ भने हवाई मार्गबाट आज प्राप्त भएको स्वास्थ्य सामग्री मिति २०७७ जेष्ठ ०७ गते स्टोरमा दाखिला गरिने छ । मिति २०७७ बैशाख ०७ गते मित्रराष्ट्र चीनको सरकारी स्वामित्वमा रहेको China Sinopharma International Corporation संग कुल मुल्य USD 1,84,41,706.35 (एक करोड चौरासी लाख एक चालिस हजार सात सय छ र पैसा पैतिस) को औषधीजन्य सामग्रीहरु खरिद गर्ने सम्झौता भए बमोजिम उक्त स्वास्थ्य सामग्रीहरु प्राप्त भएको हो । साथै नेपाल सरकारको २४ घण्टा क्वारेन्टिनमा बस्ने नियम बमोजिम मिति २०७७ जेष्ठ ६ गतेको बिहानबाट क्वारेन्टिनमा रहेको ७ (सात) वटा कन्टेनर ट्रक तातोपानी भन्सारबाट क्वारेन्टिन पश्चात भोली मिति २०७७ जेष्ठ ०७ गते काठमाडौंतर्फ प्रस्थान गर्ने र ८ (आठ) वटा कन्टेनर ट्रक भोली मिति २०७७ जेष्ठ ०७ गतेबाट २४ घण्टा क्वारेन्टिनमा बसी मिति २०७७ जेष्ठ ०८ गते काठमाडौंतर्फ प्रस्थान हुने योजना रहेको छ ।

४. नेपाली सेनाले आफुलाई समयानुकल परिमार्जित परिस्कृत गर्दै चुस्त दुरुस्त बनाउदै मितव्ययी र पारदर्शी हुँदै जाने वर्तमान नेतृत्वको उद्देश्य अनुरुप नेपालको संविधान र प्रचलित ऐन, नियम तथा नेपाल सरकारबाट निर्दिष्ट जिम्मेवारी अनुरुप देश र जनताको हितका लागि हालको विषम् परिस्थीतिमा सिङ्गो संगठन लागि परेको व्यहोरा समेत जानकारी गराईन्छ ।