नेपाली सेनाद्वारा आयोजना गरिएको प्रेस/भिडियो कन्फरेन्स सम्बन्धमा

१. आज मिति २०७७ जेष्ठ १४ गते नेपाली सेनाले प्रेस/भिडियो कन्फरेन्समार्फत काठमाण्डौं-तराई मधेश द्रुतमार्ग (Express Way) सडक आयोजनाको डिजाईन तथा कन्सट्रक्सन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनौट कार्यको सम्झौता, आयोजनाको प्रगती विवरण र आगामी कार्य योजना तथा नेपाली सेनाद्वारा कोरोना भाईरस (कोभिड-19) नियन्त्रण, रोकथाम र प्रतिकार्यमा गरिएका मुख्य कार्यहरु र नेपाली सेनामार्फत G to G विधिबाट खरिद गरिएका स्वास्थ्य सामग्री सम्बन्धी जानकारी गराएको छ ।

२. नेपालको संविधानको धारा २६७ को उपधारा (४) मा “नेपाल सरकारले नेपाली सेनालाई संघीय कानून बमोजिम विकास निर्माण र विपद् व्यवस्थापन लगायतका अन्य कार्यमा समेत परिचालन गर्न सक्नेछ” भन्ने संवैधानिक व्यवस्था रहेको छ । संवैधानिक व्यवस्था भए अनुरुप शान्तिको समयमा तथा विशेष परिस्थितिमा प्राप्त हुने जिम्मेवारी अन्तर्गत सम्पादन हुने राष्ट्र विकास निर्माण कार्यका लागि नेपाली सेनाको दैनिक गतिविधि र व्यवसायिकतामा असर नपर्ने गरि कार्य सम्पादन गर्न नेपाली सेनामा छुट्टै इन्जिनियरिङ्ग विभाग खडा गरिएको छ । सो अन्तरगत रहेका प्राविधिक तथा दक्ष जनशक्ति एवं श्री नं.१४ बाहिनी अड्डा अन्तरगत रहेका Combat Engineers को प्रयोग गरि नेपाली सेनाले व्यवस्थापन गर्ने गरि काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग (Expressway) आयोजना, नेपाल सरकारको स्वीकृत कार्यविधिबाट कार्य सम्पादन गर्दै आईरहेको छ । नेपाली सेनाका प्रविधिक तथा दक्ष जनशक्ति एवं Combat Engineers हरु शान्तिको समयमा विकास निर्माणका कार्यहरुमा सहभागी हुने व्यवस्था भएबाट उल्लेखित फौजहरु आ-आफ्नो क्षेत्रमा थप दक्ष हुन गई सेनाको व्यवसायिकतामा थप अभिवृद्धि हुन्छ भन्ने विश्वास नेपाली सेनाको रहेको छ ।

३. नेपाल सरकारद्बारा निर्दिष्ट भए अनुरुप नेपाली सेनाको जिम्मेवारीमा संचालित सडक आयोजनाहरु मध्ये व्यवस्थापकीय जिम्मेवारीमा रहेको मुख्य काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग (Expressway) सडक आयोजनाको विशेष महत्व रहेको छ । यस आयोजनाको कार्यान्वयनसँग नेपाली सेनाको आजसम्म आफ्नो, नेपाल र नेपाली नागरिक तथा नेपाल सरकारको विश्वास र भरोसा गांसिएको बारेमा नेपाली सेना सचेत छ र कमी कमजोरी हुन नदिन गल्ती भएको ठाउँमा नेपाली सेना सच्याउँदै र सच्चिदै अघि बढेको छ । हाल सामना गर्नु परेको विश्वव्यापी महामारी (COVID-19) लगायत विभिन्न चुनौतीको बावजुद देशको समग्र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने रणनीतिक महत्व समेत बोकेको राष्ट्रिय गौरवको यस सडक आयोजनालाई लक्षित समयमै पारदर्शी रुपमा गुणस्तरीय ढंगले सम्पन्न गर्न नेपाली सेना दृढ संकल्पित छ । यसै सन्दर्भमा मिति २०७७ जेष्ठ ०२ गते अन्तर्राष्ट्रिय परामर्शदाता छनौट प्रक्रियाको सम्झौता समेत भइसकेको हुंदा Lockdown Relaxation पश्चात आगामी दिनमा सुरुङ मार्ग, पुल, Slope Protection र सडक निर्माण कार्यको समष्टिगत कार्य योजना (Holistic Plan) अनुसार ठेक्का व्यवस्थापन गरी कार्य गर्ने योजना रहेको छ । उक्त राष्ट्रिय गौरवको परियोजनाको कार्य प्रगति विवरण, भावी योजना लगायत विस्तृत विवरण यसैसाथ संलग्न राखी पठाईएको व्यहोरा जानकारी गराईन्छ ।

४. साथै नेपाली सेनाले नेपालको संविधान र प्रचलित ऐन, नियम तथा नेपाल सरकारबाट निर्दिष्ट जिम्मेवारी अनुरुप देश र जनता प्रति बफादार रही उच्च मनोवलका साथ विबिध प्रकृतिका बिपद ब्यबस्थापनको गुरुत्तर दायित्व (Prime Responsibility) पूरा गर्दै आएको कुरा सर्वबिदितै छ । सोही अनुरुप कोरोना भाईरस (कोभिड-१९) नियन्त्रण, रोकथाम र प्रतिकार्यमा नेपाली सेनाले शुरुदेखि नै नेपाल सरकारको निर्देशन बमोजिम अग्रपंक्तिमा रही योगदान दिंदै आईरहेको छ । कोभिड-१९ सम्बन्धी नेपाली सेनाबाट हालसम्म गरिएका कार्यहरुको विस्तृत विवरण यसैसाथ संलग्न राखी पठाईएको व्यहोरा जानकारी गराईन्छ ।

५. नेपाली सेनाले आफ्नो जिम्मेवारीहरु कर्तव्यबोधका साथ जवाफदेही ढंगले पारदर्शी रुपमा नेपालको प्रचलित ऐन, कानून, नियमको पूर्ण रुपमा पालना गर्दै आफुलाई समयानुकल परिमार्जित परिस्कृत गर्दै जाने वर्तमान नेतृत्वको उद्देश्य अनुरुप देश र जनताको हितमा निष्ठापूर्वक काम गर्दै आईरहेको छ । काठमाडौं तराई/मधेश द्रुतमार्ग समयसिमा भित्रै सम्पन्न गर्ने यस राष्ट्रिय अभियानमा सम्बद्ध सबै तहबाट निरन्तर सहयोगको अपेक्षा राख्दै हालसम्म प्राप्त सहयोग प्रति समेत आभार प्रकट गर्नुका साथै नेपालीले व्यहोरेको हरेक विपत्तिहरुमा आमनागरिकको साथ र सहयोगमा नेपाल सरकारका सबै निकाय र संघ संस्थाहरु तथा नागरिक समाजसँगको सहकार्यले कोभिड-१९ संक्रमण नियन्त्रण, रोकथाम र प्रतिकार्यको यस राष्ट्रिय लडाई पनि जित्‍न सकिने कुरामा नेपाली सेना विश्वास राख्दछ ।