नेपाली सेनाको ध्यानाकर्षण

१. नेपाली सेनाको नेतृत्वमा मिति २०७६ फाल्गुन ०४ गतेदेखि २० गतेसम्म मित्रराष्ट्र चीनबाट ल्याईएका १७५ जना नेपाली विद्यार्थीहरुलाई भक्तपुर खरिपाटी क्वारेन्टिनमा १७ दिनसम्म राखी आवश्यक सम्पूर्ण प्रवन्ध मिलाई सफलतापूर्वक कार्य सम्पन्न गरिएको सर्वविदितै छ । उक्त ऐतिहासिक कार्यलाई वेवास्ता तथा अवमूल्यन गरि केहि सञ्चारमाध्यमहरुद्वारा सस्तो लोकप्रियताको लागि हुन सक्छ प्रायोजित ढंगबाट उक्त क्वारेन्टिन व्यवस्थापनमा अनियमितता भएको भन्ने प्रकाशित भ्रामक समाचारहरुप्रति नेपाली सेनाको गम्भिर ध्यानाकर्षण भएको छ ।

२. भक्तपुर खरिपाटीस्थित क्वारेन्टिन व्यवस्थापनको अवधिमा स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै संवेदनशिल र राष्ट्रिय प्रतिष्ठासँग गासिएको कार्यलाई सफलतापूर्वक, सम्पन्न गर्न आवश्यक पूर्व तयारी गरि प्रभावकारी एवम् पारदर्शी रुपमा सम्पन्न गरिएको थियो । उक्त क्वारेन्टिन व्यवस्थापनको लागि कुल विनियोजित रकम रु.१,२९,००,०००।०० (एक करोड उनान्तिस लाख) मध्ये खानातर्फ रु.५५,०१,४३३।०० (पचपन्न लाख एक हजार चार सय तेत्तिस) र औषधी तथा औषधीजन्य सामग्रीहरुतर्फ रु.७३,९८,०००।०० (त्रिहत्तर लाख अन्ठानब्बे हजार) विनियोजन भएको थियो । औषधी खरीदमा रु.३,३३,०१०।०० (तीन लाख तेत्तिस हजार दश), औषधीजन्य सामग्री खरिदमा रु.६३,३७,४८१।०५ (त्रिसाठ्ठी लाख सैतिस हजार चार सय एकासी रुपैया र पैसा पाँच) र बाकि रु.७,२८,०४८।९६ (सात लाख अठ्ठाइस हजार अठ्चालिस र पैसा छयानब्बे) श्री कोष तथा लेखा नियन्त्रण कार्यालय, सुन्धारा काठमाडौंमा मौज्दात रहेको जानकारी गराईन्छ । तसर्थ, औषधी खरिदतर्फ रु.३,३३,०१०।०५ (तीन लाख तेत्तिस हजार दश र पैसा पाँच) रकम मात्र भएको र सो औषधीहरु मध्ये रु.१३,१७९।८९ (तेह्र हजार एक सय उनासी र पैसा उनाननब्बे) बरावरको औषधी खर्च भई बाकिं रु.३,१९,८३०।१६ (तीन लाख उन्नाइस हजार आठ सय तीस र पैसा सोह्र) बरावरको औषधी पुनः प्रयोगमा ल्याउने गरि स्टोर मौज्दात भएको जानकारी गराईन्छ । प्रयोग भईसकेको केहि औषधीहरु सोहि क्वारेन्टिन स्थलमा नै प्रयोग गर्ने गरि छोडिएको र केहि औषधी पुनः प्रयोगमा ल्याउने गरि स्टोर दाखिला भएको समेत जानकारी गराईन्छ ।

३. रु.६३,३७,४८१।०५ (त्रिसाठ्ठी लाख सैतिस हजार चार सय एकासी र पैसा पाँच) बाट खरीद गरिएको औषधी र औषधीजन्य सामग्रीहरु मुख्यतया स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, फोहोर व्यवस्थापन तथा अन्य हवाई यात्रामा आते/जाते कार्यमा खट्टिएका व्यक्तिहरु, क्वारेन्टिनमा नियमित कार्यमा प्रयोग गरिने Personal Protective Equipment (PPE), Digital/Infrared Thermometer, मास्क र पञ्जाहरु, Sanitizer र Disinfectant हरु, Waste Transportation Trolley सहित सफाईका सामग्री र Fogger Machine हरु खरीद गरिएको थियो । उक्त स्वास्थ्य सामग्रीहरु मध्ये प्रयोग पछाडि डिस्पोज गरिने र Consumable हरु बाहेक रु.२३,३०,५६२।21 (तेइस लाख तीस हजार पाँच सय बैसाठ्ठी र पैसा एक्काईस) बरावरको औषधीजन्य सामग्रीहरु पुनः प्रयोगमा ल्याउने गरि स्टोर दाखिला भएको जानकारी गराईन्छ ।

४. उक्त अवधिभर क्वारेन्टिनमा रहने १७५ जना स्वदेश फर्किएका नेपाली विद्यार्थीहरु, नेपाल वायुसेवा निगमका १८ (अठार) जना, चिकित्सक समूह, सफाईकर्मी तथा एम्बुलेन्स टोली सहित गरि जम्मा ९ (नौ) गरि जम्मा २०२ (दुई सय दुई) जनालाई स्तरिय प्याकिङ्ग सहितको स्वस्थकर खाना खुवाउनको लागि ४ (चार) प्रकारका मेनु (शाकाहारी र तीन प्रकारका मांसाहारी) अनुसार दिनको ४ (चार) छाक (ब्रेकफाष्ट, लञ्ज, टिफिन र डिनर) को व्यवस्था गरिएको थियो । कोभिडको त्रासका कारण अन्य केटरिङ्ग अनिच्छुक भएको अवस्थामा दैनिक खानाको लागि कार्की केटरिङ्गसँग प्रति व्यक्ति प्रति दिन भ्याट वाहेक रु.१३५०।०० (एक हजार तीन सय पचास) मा सम्झौता भएको थियो । साथै उक्त क्वारेन्टिनमा सुरक्षार्थ खट्टिएका ३० (तीस) जना सुरक्षाकर्मीहरुलाई खाजाको व्यवस्था गरिएको थियो भने सोहि भित्रबाट पानी, कफि र चियाको छुट्टै प्रबन्ध समेत गरिएको थियो ।

५. सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ र नियमावली २०६४ को नियम १४५ को उपनियम ३ मा व्यवस्था भए बमोजिम खरिद सम्बन्धी जानकारी मिति २०७७ जेष्ठ २० गते गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरिएको व्यहोरा सम्पूर्ण पाठक वर्गमा जानकारी गराउन चाहन्छौं । वास्तविकतालाई तोडमोड गरि गहन अध्ययन वेगर रु.३,३३,०१०।०५ (तीन लाख तेत्तिस हजार दश र पैसा पाँच) औषधी खरिद भएकोमा रु.७३,९८,०००।०० (त्रिहत्तर लाख अन्ठानब्बे हजार) भनि एउटै मात्र आधार लिई हचुवाको भरमा पाठक वर्गलाई दिग्भ्रमित (Misleading) गर्ने अभिप्रायलाई राष्ट्रको प्रमुख संयन्त्रको रुपमा रहेको नेपाली सेना यस विषम् परिस्थितीमा आफ्नो जीवनलाई खतरामा राखेर आम जनताको रक्षार्थ खट्टिईरहेको अवस्थामा सैनिक व्यक्तिहरुको मनोबल कमजोर तुल्याउने प्रयास प्रति सचेत रहन सम्पूर्ण पाठक वर्गमा हार्दिक अनुरोध गर्दछ । साथै कोभिड-१९ विरुद्धको यस राष्ट्रिय लडाईमा आफ्नो दायित्व र भूमिकालाई प्रभावकारी एवम् पारदर्शी ढंगबाट सम्पन्न गर्न नेपाली सेना प्रतिवद्ध रहेको समेत जानकारी गराईन्छ ।