नेपाली सेनाको गम्भिर ध्यानाकर्षण

१. हाल केही सामाजिक संजालमा सैन्य आधार तालिम समाप्त गरेका दुई सैनिकहरु (महिला तथा पुरुष) को तस्विर पोष्ट गरी उपरोक्त पोष्टमा लेखिएको भ्रामक तथा नकारात्मक टिकाटिप्णीहरु प्रति नेपाली सेनाको गम्भिर ध्यानाकर्षण भएको छ ।

२. सो सम्बन्धमा उपरोक्त तस्विर गत मिति २०७६।०९।०१ गतेदेखि २०७७।०३।१९ गतेसम्म भक्तपुर जिल्लाको सूर्यविनायक स्थित श्री वीरदल गणमा सञ्चालन भएको सैन्य आधार तालिम पुरा गरेका रुपन्देही जिल्ला स्थायी ठेगाना भएका सिपाही सम्झना थारु र कपिलवस्तु जिल्ला स्थाई ठेगाना भएका सिपाही सुवास थारुको भएको र निजहरुको उचाईको सम्बन्धमा सिपाही सम्झना थारुको उचाई ५ फिट १ ईन्च र सिपाही सुवास थारुको उचाई ५ फिट १० ईन्च रहेको । हाल तालिम समाप्ति पश्चात् निजहरु क्रमशः श्री नं. २ वन तथा पर्यावरण सुरक्षा गण र श्री रणभैरव गणमा सरुवा नियुक्ति भएको जानकारी गराउन चाहान्छौ ।

३. नेपाली सेनाको भर्ना छनौट कार्यविधि र तोकिएको मापदण्ड बमोजिम नेपाली सेनाको विभिन्न दर्जाहरुको भर्नाको लागि आवश्यक पर्ने न्यूनतम उचाई यसप्रकार रहेको ।

(क) महिला उम्मेदवारको हकमा.

(१) बन्दोवस्ती कार्य सिपाही -५ फिट

(२) फाल्वर्स- ४ फिट १० ईन्च

(३) सैन्य- ५ फिट

(४) अधिकृत- ५ फिट

(५) पाईलट अधिकृत- ५ फिट ३ ईन्च

(ख) पुरुष उम्मेदवारको हकमा.

(१) बन्दोवस्ती कार्य सिपाही -५ फिट ३ ईन्च

(२) फाल्वर्स- ५ फिट २ ईन्च

(३) सैन्य- ५ फिट ३ ईन्च

(४) अधिकृत- ५ फिट ३ ईन्च

(५) पाईलट अधिकृत- ५ फिट ३ ईन्च

४. नेपाली सेनाको भर्ना छनौट निर्देशिका २०७१ मा तोकिएको मापदण्ड बमोजिमका शर्तहरु पुरा गरी नेपाली सेनामा छनौट भएका सैन्यहरुको वास्तविकतालाई तोडमोड गरि अतिरञ्जित तरिकाले गरिएको प्रचार-प्रसारको भ्रममा नपर्न हुन नेपाली सेना सम्पूर्ण सामाजिक संजाल प्रयोगकर्ताहरु समक्ष हार्दिक अनुरोध गर्दछ । साथै आगामी दिनहरुमा समेत विभिन्न सामाजिक संजाल तथा अन्य संचारका माध्यमहरु मार्फत नेपाली सेनासम्बन्धी यस प्रकारका अफवाहहरु फैलाउन प्रयास हुन सक्ने भएकोले सम्पूर्ण प्रयोगकर्ताहरुलाई सचेत र सजक रहन नेपाली सेना अनुरोध गर्दछ ।