भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपालको औपचारिक भ्रमण सम्पन्न

१.    प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे, (PVSM, AVSM, SM, VSM, ADC) तीनदिने औपचारिक भ्रमण सम्पन्न गरि आज मिति २०७७ कार्तिक २१ गते स्वदेश फिर्ता हुनु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्माले बिदाई गर्नु भएको थियो ।  

 २.    आज बिहान उहाँले नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा गई, त्यहाँ तालिमरत शिक्षार्थिहरुलाई सम्बोधन गर्दै आफ्नो लामो सैनिक सेवाबाट प्राप्त उपयोगि अनुभवहरुका बारेमा बताउनु भएको थियो । स्वदेश प्रस्थान गर्नु पूर्व, भारतीय स्थल सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी जनरल नरवणेले सम्माननीय प्रधान मन्त्री तथा रक्षा मन्त्रीज्यूसँग शिष्टाचार भेटघाट गर्नु भएको थियो ।  

३.    हिजो मिति २०७७ कार्तिक २० गते राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित हुनु भएका भारतीय स्थल सेनाध्यक्ष जनरल नरवणेको सम्मानमा नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले जङ्गी अड्डामा रात्रीभोज आयोजना गर्नु भएको थियो । रक्षा सचिव, परराष्ट्र सचिव तथा भूतपूर्व प्रधान सेनापतिहरुको उपस्थिति रहेको उक्त रात्रीभोजको दौरान दुवै प्रधान सेनापतिहरुले दुई सेनाबीचको परम्परागत सम्बन्धको चर्चा गर्दै उक्त सम्बन्ध सुदृढ गर्नमा यो भ्रमण फलदायी भएको उल्लेख गर्नु भएको थियो ।

४.  हिजो नै जङ्गी अड्डामा भएको औपचारिक भेटवार्तामा दुई प्रधान सेनापतिबीच आपसी सुरक्षा चासोका विषयहरुमा खुला छलफल भएको थियो । भेटवार्ताकै क्रममा, विद्यमान Nepal-India Bilateral Consultative Group’s Meeting on Security Issues अन्तर्गत दुई सेनाबीच उच्चस्तरीय भ्रमण र तालिमहरु लगायत अन्य सहयोगका क्षेत्रमा थप विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।

५.  यस भ्रमणले दुई देशबीच रहंदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।