"केन्द्रिय तहको प्रमुख सुवेदार/ज्येष्ठ सुवेदार समन्वयात्मक बैठक- २०७७" सम्पन्‍न

१. 'हामी प्रमुख सुवेदार र जेष्ठ सुवेदार : पद्दती र प्रणालीको सुदृढीकरण र दीगोपनाको मजबुत आधार' भन्ने मुल संदेशका साथ जंगी अड्डामा सञ्चालन भएको दुईदिने "केन्द्रिय तहको प्रमुख सुवेदार/जेष्ठ सुवेदार समन्वयात्मक बैठक- २०७७" कार्यक्रम आज मिति २०७७ मंसिर ८ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्‍न भएको छ ।  

२. समापनको क्रममा मन्तव्य राख्‍नुहुँदै प्रधानसेनापति थापाले नेपाली सेनाको मजबुत आधार स्तम्भ भनेकै प्रमुख सुवेदार (प्र.सु.)/जेष्ठ सुवेदार (सि.सु.) हुने हुँदा स्थापित हुँदै गएका पद्दति र प्रणालीलाई थप सुदृढ, परिपक्व र दिगो वनाउने कार्यमा प्र.सु. र सि.सु. हरुको भूमिका सवैभन्दा बढि महत्वपुर्ण हुने बताउनु भएको थियो । सेवा निवृत्ति पछी पनि विदेशिने भावना र प्रवृत्ति छाडी नेपालमा नै परिवारको साथमा रही आफ्नो शिप र जाँगरको सदुपयोग गर्न सकल दर्जालाई प्रेरित गर्न पनि उहाँले अनुरोध गर्नु भयो । त्यसै गरी नेपाली सेनामा अहिलेसम्म प्राप्त उपलव्धीहरुलाई आ-आफ्नो अनुभव र वस्तुगत आधारमा कसरी सुदृढ गर्ने र सकलदर्जाको समष्टिगत विकासको लागि कुन कुन क्षेत्रमा कसरी सुधार गर्न सकिन्छ भन्ने वारेमा सबैबाट र विशेष गरी जुनियर अधिकृतहरुबाट सकारात्मक योगदानको अपेक्षा राखेको बताउनु भयो । संगठनले अवलम्बन गर्ने नीति-नियम तथा कार्ययोजनाहरुको वास्तविक कार्यान्वयन हुने तह भनेकै फिल्ड तह भएकोले पदिक तथा अन्यदर्जाहरुको व्यावसायिक क्षमताको स्तरले सेनाको व्यावसायिकता मापन हुने बताउनु भएको थियो । 

३. उक्त बैठक समापन पश्चात प्र.सु तथा सि.सु हरुले आ-आफ्नो युनिटहरुमा “सुदृढिकरण तथा दिगोपना” को यस बर्षमा युद्धकार्य तयारीपन, अनुशासन, कल्याणकारी पक्ष, सकलदर्जाको मनोबल लगायतका समग्र क्षेत्रहरुमा नतिजामुखी उपलब्धी हासिल गर्न थप उर्जा तथा उत्साह बृद्धि हुने विश्वास लिएको बताउँदै प्रधान सेनापति कमाण्ड मार्गनिर्देशन - २०७५ ले निर्दिष्ट गरेका लक्ष्यहरु मध्ये पदिक र अन्यदर्जाहरुको जनशक्ति व्यवस्थापन, नेतृत्व विकास लगायत शान्ति सेना छनौट, निबृत्तिभरण, राशन गुणस्तर अभिवृद्धि लगायत कल्याणकारी तर्फका शिक्षा, स्वास्थ्य, सेवा तथा सहुलियत तर्फ उल्लेख्य सुधारहरु भएको बताउनु भएको थियो ।  

४. गत वर्ष मंसिर महिनामा सम्पन्न भएको यस प्रकारको सम्मेलन यो वर्ष पौष ७ गते शुरु भएको हो । यस दुईदिने कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत मन्तव्य राख्‍नुहुँदै गौरवमय इतिहास र मौलिक परम्परा बोकेको नेपाली सेनाको इतिहासलाई शताब्दीऔंसम्म जिवन्त राख्ने, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको बीचमा साँघुको जिम्मेवारी निर्वाह गर्ने, युनिटलाई अभिभावकत्व प्रदान गर्ने प्र.सु तथा सि.सु. हरुको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नु हुँदै आफ्नो फौज, आफ्नो युनिट तथा समग्र संस्थाकै सर्वोपरि हितका लागि सृजनात्मक भई कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । समन्वयात्मक बैठकमा प्रमुख सुवेदार र सिनियर सुवेदारहरुले संगठन भित्रका समस्या र चुनौती, कार्य समिक्षा, वर्तमान वस्तुस्थिती लगायतका विषयहरुमा छलफल गरी राय सुझाव प्रस्तुत गरेका थिए । कोभिड-१९ महामारीकाबीच आयोजना भएको उक्त बैठकमा स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्दै जंङ्गी अड्डालगायत नेपाली सेनाका विभिन्‍न फर्मेशन तथा युनिट/सव युनिटहरुबाट ८१ जना प्रमुख सुवेदार/सिनियर सुवेदारहरुको सहभागिता रहेको थियो ।

५. बैठकको समापन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको समेत उपस्थिती रहेको थियो । यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्चात प्राप्त हुने गहन तर्क र राय सुझावहरुले आगामी दिनमा नेपाली सेनाको नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउनुको साथै नेपाली सेनामा स्थापित हुँदै गएका पद्दती तथा प्रणालीको सुदृढीकरण एवं दिगोपनाको बलियो आधार तयार हुने विश्वास नेपाली सेनाले लिएको छ ।