"एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनार-२०७७" को शुभारम्भ

१. नेपालको संविधान २०७२ द्वारा नेपाली सेनालाई निर्दिष्ट गरिएको जिम्मेवारी, नेपाल सरकारको नीति तथा कार्यक्रममा समाविष्ट तथा प्रधान सेनापति कमाण्ड मार्ग निर्देशन २०७५ मा उल्लेख भए अनुसार इतिहास तथा ऐतिहासिक धरोहरको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्दै राष्ट्रिय एकता प्रबर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्य सहित जङ्गी अड्डास्थित सभामण्डप हलमा आयोजित "एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनार-२०७७" को आज मिति २०७७/१०/२२ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले विशेष कार्यक्रमकाबीच दीप प्रज्वलन गरी समुद्‍घाटन गर्नु भएको छ ।  

२. राष्ट्रिय गान तथा नेपाली सेनाका कार्यरथी उपरथी अनन्त कार्कीबाट स्वागत मन्तव्य सहित शुरु भएको उक्त तीनदिने सेमिनारको मुख्य आदर्श भाव "एकीकरण मार्गको चाहना : राष्ट्रिय एकताको भावना" रहेको छ । सो सेमिनार मिति २०७७/१०/२५ गते सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्रीज्यूबाट समापन हुने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरु, नेपाल सरकारका सचिवहरु, विभिन्न मन्त्रालय तथा विभागहरुका महानिर्देशकहरु तथा निर्देशकहरु, इतिहासविद्, संस्कृतिविद्, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु र सञ्चारकर्मीहरुको उपस्थिती रहेको छ ।

३. राष्ट्रिय एकताको संरक्षण र सम्बर्धन गर्ने संवैधानिक जिम्मेवारी समेत प्राप्त गरेको नेपाली सेनाले ऐतिहासिक गढी, किल्ला तथा एकिकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ शुरु गरेको कार्यक्रम अन्तर्गत गतवर्ष देखि नेपाल सरकारको नीति तथा कार्यक्रमको रुपमा निरन्तरता पाइरहेको छ । सेनाको इतिहास र संस्कृतिको सम्बर्द्धन र प्रवर्द्धन गर्ने कार्यक्रमहरु तर्जुमा गर्ने कार्यमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरु, सरोकारवाला मन्त्रालयहरु, पुरातत्व विभाग, पर्यटन बोर्ड, इतिहास तथा संस्कृतिविद्हरुबाट संस्थागत तथा व्यक्तिगत तवरबाट सक्रिय सहयोग प्राप्त हुनुले सबै सरोकारवालाहरुले यस कार्यक्रमको उत्साहजनकरुपमा अपनत्व लिएको पाइएको छ ।

४. यस प्रकारको सेमिनारबाट प्राप्त हुने प्रतिक्रियाहरु, सृजनात्मक सोच र अवधारणाहरुले ऐतिहासिक सम्पदा, गढी तथा किल्लाहरुको संरक्षण एवं सम्बर्द्धनको दीर्घकालीन र एकीकृत योजना निर्माणको लागि साझा बुझाईको निर्माण, ऐक्यबद्ध एवं समन्वयात्मक प्रयास हुनुको साथै राष्ट्रिय एकताको प्रबर्द्धनमा सहयोग पुर्‍याउन महत्वपुर्ण भुमिका खेल्ने नेपाली सेनाले विश्‍वास लिएको छ ।