“नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु” बिषयमा दुईदिने सेमिनार शुभारम्भ

१. नेपाल सरकार, मन्त्रिपरिषद्‍बाट मिति २०७७/०३/२३ गते स्वीकृत भएको "राष्ट्रिय सुरक्षा नीति २०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना" बमोजिम नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरुको पहिचान गरी नेपाल सरकारलाई सिफारिस गर्ने लक्ष्य सहित श्री राष्ट्रिय सुरक्षा परिषद सचिवालयको संयोजकत्व तथा सम्मानानीय प्रधानमन्त्री तथा रक्षामन्त्रीको प्रमुख आतिथ्यतामा जङ्गी अड्डा तथा सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा सञ्चालन हुने “नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु” बिषयक दुई दिवसीय सेमिनारको आज मिति २०७७ माघ २५ गते सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्‍का अध्यक्ष केपी शर्मा ओलीज्यूले जङ्गी अड्डामा एक कार्यक्रमका बीच शुभारम्भ गर्नु भएको छ । 

२. उक्त सेमिनार मुख्य रुपमा शान्तिको समयमा तथा द्वन्द्व एवं असाधारण परिस्थितिमा सीमा व्यवस्थापनका विविध पक्षहरु र सम्बद्ध विभिन्न निकायहरुको भूमिकामा केन्द्रित रहने छ । यस क्रममा सीमा व्यवस्थापनका अन्तर्राष्ट्रिय प्रचलन, सीमा व्यवस्थापनमा जिम्मेवार राष्ट्रिय निकाय तथा सीमा पारिका समकक्षीहरुसंगको समन्वयलाई प्रभावकारी बनाउन अपनाउनु पर्ने तरिकाहरु तथा सीमा व्यवस्थापनमा प्रविधिको प्रयोग जस्ता विषय वस्तुहरु समेत समेटिने छन । सेमिनारले उल्लेखित विभिन्न विषयहरुमा छलफल गरी नेपाल सरकारलाई नीति निर्माणका लागि उपयुक्त सुझावहरु प्रदान गर्ने छ ।

३. राष्ट्रिय सुरक्षा परिषद्‍को सदस्य सचिव एवं रक्षा सचिव रेश्मीराज पाण्डेबाट स्वागत मन्तव्य सहित शुरु भएको सो कार्यक्रममा माननिय गृहमन्त्री राम बहादुर थापा तथा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले समेत सेमिनारको सफलताको लागी शुभ-कामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम शुभारम्भ गर्दै शुभ-कामना मन्तव्यको क्रममा सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यूले यस प्रकारका कार्यक्रमले सिमा सुरक्षा जस्तो गम्भिर तथा महत्वपूर्ण विषयमा हुने आन्तरिक छलफल तथा विज्ञहरुबाट प्राप्त हुने राय सुझावबाट नीति निर्माण एंव सिमाको कुशल व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास ब्यक्त गर्नु भएको थियो । 

४. पहिलो दिन जङ्गी अड्डा तथा दोस्रो दिन सशस्त्र प्रहरी बल, नेपालको मुख्यालय हलचोकमा संचालन हुने यस कार्यक्रम राष्ट्रिय सुरक्षा परिषद्‍को सचिवालय सह-संयोजकबाट सेमिनारको निचोड र सुझाव को प्रस्तुतिकरण, सहभागीहरुलाई प्रमाणपत्र वितरण, रक्षा सचिव तथा गृह सचिवको मन्तब्य एवं माननीय गृहमन्त्री श्री राम बहादुर थापाबाट समापन मन्तव्य सहित समापन हुने कार्यक्रम रहेको छ ।

५. इतिहासमै पहिलो पटक आयोजना भएको र नेपालको अन्तर्राष्ट्रिय सीमा ब्यवस्थापनको लागि अत्यन्तै महत्वपूर्ण मानिएको सो कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसँग सम्बन्धित सबै मन्त्रालय/निकायहरुबाट बिशिष्ट श्रेणीका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको छ ।