"संगठनमा परिवर्तन सुदृढीकरण र दीगोपना" सम्बन्धी ४ दिवसीय सेमिनार सम्पन्‍न

१.    प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले मिति २०७७ फाल्गुन २ गते शुरु भएको Seminar on Organizational Change Consolidation and Sustainability” सम्बन्धी ४ दिवसीय गोष्ठीको आज मिति २०७७/११/०५ गते जङ्गी अड्डास्थित सगरमाथा हलमा एक समारोहकाबीच समापन गर्नु भएको छ ।

 .        "Our Future Lies in the Present" भन्‍ने भावमा आधारित सो सेमिनारको समापन समारोहलाई सम्बोधन गर्नु हुँदै प्रधान सेनापति थापाले आजको अस्थिर, अनिश्चित, अस्पष्ट र तरल सुरक्षा वातावरणमा परिवर्तन बाहेक अरु सबै अस्थायी रहेको बताउँदै परिवर्तनको प्रकृति अपरिवर्तनीय रहेको र हरेक संगठनमा परिवर्तनको निरन्तरता मात्र नभई सुदृढिकरण तथा दीगोपनाको बिषयमा सबैमा समान समझदारीको विकास र प्रवर्द्धन आवश्यक रहेको बताउनु भएको थियो ।

३.    सोही क्रममा प्रधान सेनापति थापाले परिवर्तन संस्कृतिको निर्माण गर्ने सम्पुर्ण जिम्मेवारी नेतृत्वको नभए तापनि परिवर्तनको अङकुरण गराउने तथा परिवर्तनलाई सुदृढ बनाउंदै संगठनको भविष्य कोर्ने जिम्मेवारी वर्तमान नेतृत्व वर्गको नै रहेको हुँदा परिवर्तन प्रबन्धन अर्थात् Change Management गर्ने रणनीति सफलताको लागि नेतृत्व वर्ग आफैमा स्पष्टता, शुद्धता, इमान्दारिता, निष्ठा, नैतिकता र पारदर्शिता हुनुपर्ने धारणा राख्नु भएको थियो ।    

४.    सम्बोधनको क्रममा नेपाल विश्वकै पुरानो राष्ट्र रहेको र नेपाली सेना एसियाकै सबैभन्दा पुरानो सेना भएको इतिहास स्मरण गर्दै नेपाली सेना राष्ट्र रक्षाको लागि सक्षम तथा समर्पित रहेको बताउनु भएको थियो । परिवर्तनको शुरुवात गर्न आज जतिको उपयुक्त समय कहिल्यै नहुने वास्तविकता सबैले आत्मसात गरेमा आ-आफ्नो क्षेत्रमा वा संगठनमा परिवर्तनको वाहकको भूमिका निर्वाह गर्न सक्षम हुने धारणा राख्दै कार्यक्रमको अन्त्यमा वहाँले ६ जना गैर सैनिक तथा ११ जना सैनिक वक्ताहरुलाई मायाको चिनो तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो ।

५.    सो समारोहमा End Note Address गर्दै बलाधिकृत रथी प्रभुराम शर्माले सांगठनिक परिवर्तन सामुहिक प्रयास तथा जिम्मेवारीबाट मात्र सम्भव हुने र नेपाली सेना पेशेवार संगठनको रुपमा लक्ष्य प्राप्त गर्न निरन्तर लागीपर्ने बताउनु हुँदै सेमिनारलाई सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । सोही अवसरमा वहाँले सेमिनारमा सहभागि सैनिक ब्यक्तिहरुलाई प्रमाणपत्र समेत बितरण गर्नु भएको थियो ।

६.    रक्षा मन्त्रालय तथा अन्य सुरक्षा निकायहरुका उच्च तहका अधिकृतहरु, नेपाली सेनाका रथीबृन्द तथा अधिकृत वर्गको उपस्थितिमा जङ्गी अड्डामा सञ्चालन भएको उक्त ४ (चार) दिवसीय सेमिनारमा ६ जना गैर सैनिक तथा ११ जना सैनिक विषयविज्ञहरुबाट Preparation of Change Leaders: Driving the Change; Sustaining Nepal's Future Wars Logistically: Changing Mindset and the Approach;  NA Change Consolidation : Strategies and Plan of Action for the Future लगायतका बिभिन्न महत्वपूर्ण बिषयहरुमा व्याख्यान, अन्तर्क्रिया तथा व्यापक छलफल भएको थियो