"स्वयं सेवक भूमिकामा NCC Cadets" विषयक सेमिनार-२०७७ सम्पन्न

१. नेपाली सेनाको राष्ट्रिय सेवादलद्वारा जंगी अड्डास्थित सभामण्डप हलमा आयोजित "स्वयं सेवक भूमिकामा NCC Cadets" विषयक सेमिनार-२०७७ आज मिति २०७७/११/०९ गते एक विशेष समारोहकाबीच सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।  

२. पानसमा दिप प्रज्वलन, राष्ट्रिय गान, राष्ट्रिय सेवादल गान तथा सम्माननीय प्रधानमन्त्रीबाट रचित "म मेरो देश बनाउँछु" बोलको गीतको भिडियो क्लिप प्रदर्शन सहित सुरु भएको उक्त सेमिनारमा शुभकामना मन्तव्य राख्नु हुँदै सम्माननीय प्रधानमन्त्रीले नेपाली सेनाबाट तालिम प्राप्त NCC Cadet हरुले तालिममा सिकेका आफ्ना सिप तथा कौशल सामाजिक सेवा तथा सम्पदाहरुको संरक्षणमा निस्वार्थ प्रयोग गरिनु पर्ने र बिज्ञान तथा प्रविधीको उच्चतम उपयोगबाट शिक्षा स्वास्थ्य तथा विकासमा पछि परेको अवस्थाबाट देशलाई अगाडी बढाउँदै नेपाल सरकारले अवलम्बन गरेको "समृद्ध नेपाल: सुखी नेपाली" को आकांक्षा प्राप्त गर्न सकिने बताउनु भएको थियो । 

३. सो कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले राष्ट्र, समाज र जनजीवनले सामना गरिरहेका तथा भविष्यमा आइपर्न सक्ने सम्भावित संकट एवं चुनौतीहरुलाई सामना गर्न देशको बिद्यमान स्रोत, साधन तथा जनशक्ति सदा पर्याप्त हुन नसक्ने तथ्यलाई मनन् गर्दै राष्ट्रिय सेवा दल तालिमबाट दिक्षित, अनुशासित तथा कर्तव्यनिष्ठ युवाहरु सहयोगी स्वयं सेवकको रुपमा राष्ट्रलाई परेका बेला National Reserve को रुपमा समेत परिचालन हुन सामर्थ्यवान छन् भन्ने बिश्वास व्यक्त गर्नु भएको थियो ।

४. राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी रघु भण्डारी (अ.प्रा.) बाट स्वागत मन्तव्य तथा बलाधिकृत रथी प्रभुराम शर्माको समापन मन्तव्य सहित सम्पन्न भएको सो कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, नं. २ प्रदेश प्रमुख, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका उपकूलपति, राष्ट्रपति कार्यालयका प्रमुख स्वकिय सचिव लगायत विभिन्न मन्त्रालयका सचिवहरु तथा उच्च पदस्थ अधिकारीहरु, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द र अधिकृतहरु, अन्य सुरक्षा निकायका महानिरिक्षक तथा बरिष्ठ अधिकृतहरु, गैह्र सैनिक निकायका विज्ञहरु, पूर्व NCC तालिम प्राप्त पदाधिकारीहरु, राष्ट्रिय सेवादल पूर्व महानिर्देशक तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।  सो सेमिनारमा विभिन्न विद्यालयबाट सिनियर तथा जुनियर डिभिजन तर्फका शिक्षक तथा अभिभावकहरु, NCC अल्मुनाई एसोशियसन केन्द्रिय कमिटिका पदाधिकारीहरु, उपत्यका समन्वय समितिका पदाधिकारीहरु, सो एसोसियशनका विभिन्न जिल्ला निर्देशकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।