प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापालाई "Academy Hall of Fame" सम्मान

१. नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीमा अधिकृत क्याडेट आधार तालिम पुरा गरी नेपाली सेनाको सर्वोच्च पदमा नियुक्त हुनु भएका प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापालाई उक्त प्रतिष्ठानमा आयोजित अधिष्ठापन समारोह (Induction Ceremony) मा प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी श्री प्रेमध्वज अधिकारी "Academy Hall of Fame" को सम्मानबाट अभिनन्दन गर्नु भई "Certificate of  Honor" प्रदान गर्नु भएको छ ।   

२. विभिन्न देशहरुले आ-आफ्नो तालिम केन्द्र, प्रतिष्ठान तथा कलेजहरुबाट तालिम प्राप्त गरेका स्वदेशी तथा विदेशी शिक्षार्थीहरु मध्ये उच्चतम पद हासिल गर्न सफल हुने व्यक्तिहरुलाई सम्मान गर्ने र उहाँको तस्वीर हलमा राखी सम्मान प्रकट गर्ने प्रचलन अनुरुप नेपाली सैनिक प्रतिष्ठानमा "Academy Hall of Fame" समारोह आयोजना गरिएको हो । उक्त प्रतिष्ठानको पृथ्वीनारायण भवनको गोरखकाली कक्षमा वहाँहरुको तस्वीर राखिएको  छ ।

३. नेपाली सेनाको इतिहासमा नेपाली सैनिक प्रतिष्ठानबाट अधिकृत क्याडेट आधार तालिम पुरा गरेका शिक्षार्थीहरु मध्ये प्रधान सेनापतिको उच्चतम दर्जा प्राप्त गर्ने महारथी थापा दोस्रो हुनु हुन्छ । यस भन्दा अगाडी उक्त सफलता महारथी राजेन्द्र क्षेत्री (अ.प्रा.) ले प्राप्त गर्नु भएको थियो । 

४. उक्त समारोहमा रक्षा सचिव, पूर्व प्रधानसेनापतिहरु, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरु, नेपाली सेनाका रथीबृन्दहरु, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, पूर्व शिक्षाधिकृतहरु, नेपाली सैनिक प्रतिष्ठान (त्रि.वि.) का डिन, विभिन्‍न देशका सैनिक सहचारीहरु लगायत नेपाली सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो ।