'महाशिवरात्री तथा सेना दिवस - २०७७' सम्पन्‍न

१. आज मिति २०७७ फाल्गुन २७ गते सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमहरुको आयोजना गरी ‘महाशिवरात्री तथा सेना दिवस - २०७७’सम्पन्न भएको छ । 

२. सेना दिवसको शुभ अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नु भई वीर शहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्नु भएको थियो भने नेपाली सेनाले सम्माननीय राष्ट्रपतिको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । 

३. सेना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरद्वारा ‘महाशिवरात्री तथा सेना दिवस -२०७७’अंकित व्यानर प्रदर्शन तथा पुष्पबृष्टी गरिए पश्चात षट्कोण फर्मेशन तथा नेपालको राष्ट्रिय झण्डाको आकृति समेत निर्माण गरी राईफल र तोपबाट महाशिवरात्रीको बढाइँ गरिएको थियो । हेलिकप्टर मार्फत उद्धार सम्बन्धी विशेष कलाको प्रदर्शन, मार्च पाष्ट, खुकुरी नृत्य, आइकिडो, कराँते खेल, विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षण सम्बन्धी विभिन्‍न हात/हतियार, भेहिकल तथा उपकरणहरुको प्रदर्शन, विशेष फौज बाहिनीबाट फ्रि-फल जम्प लगायत विभिन्न प्रदेशका संस्कृती झल्कने नाच एवं गतिविधि समेतको प्रदर्शन गरिएको थियो । 

४. सो समारोहमा सम्माननिय राष्ट्रपतिज्युबाट "नेपाल एकिकरणको ईतिहास (१८०१-१८७२)", "नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय" र "सिपाही बार्षिक-२०७७" को विमोचन गर्नुको साथै फ्रि-फल जम्पमा प्रथम र द्वितिय हुने सैनिकहरुलाई पुरस्कार समेत वितरण गर्नु भएको थियो ।

५. 'महाशिवरात्री तथा सेना दिवस-२०७७' को अवसरमा प्रधानसेनापति प्रशंसा निशान तथा प्रधानसेनापति प्रशंसा पत्र प्राप्त गर्नेहरुमा बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द १७ जना, अधिकृत २११ जना, पदिक १९५ जना र अन्यदर्जा ७७८ जना, ड्रिल प्रतियोगितामा प्रथम भएका पृतनाका सकलदर्जा ५६ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ८ जना र गैर सैनिक ८२ जना गरि जम्मा १३४७ जना रहेका थिए । सोही अवसरमा प्रधान सेनापति महारथी थापाद्वारा नेपालका लागि अमेरिकी राजदूत HE Randy W. Berry र चिनिया राजदूत HE Hou Yanqi लाई कदरपत्र र आफ्नो कार्यकाल पुरा गरि स्वदेश फिर्ता हुन लाग्नु भएका अमेरिकी राजदूतावासका सैनिक सहचारी Lt Col Matt Sova लाई प्रधान सेनापति प्रशंसा निशानद्वारा सम्मान गर्नु भएको थियो । साथै सोही समारोहमा प्रधानसेनापति महारथी थापाले सैनिक आवासीय महाविद्यालयको कफि टेबल बुक "यात्राङ्कन" पुस्तकको विमोचन गर्नुका साथै निम्नानुसार दर्ज्यानी चिन्ह, ट्रफी तथा पुरस्कारहरु समेत वितरण गर्नु भएको थियो ।

 • मानार्थ उप सेनानी पदमा पदोन्नती हुनु भएका ५४ जना पदिकहरु मध्ये उपत्यका भित्र कार्यरत २३ जनालाई दर्ज्यानी चिन्ह ।

प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गणतर्फ प्रथम र द्वितिय भएका क्रमश: श्री कालीजंग गण र श्री बटुकदल गण तथा गुल्मतर्फ श्री गुरुगोरख गुल्म र श्री शत्रुमर्दन गुल्मलाई प्रकृति संरक्षण ट्रफी । 

ई.एम.ई. गणको युद्धकार्य तथा पेशागत निरीक्षण २०७७ मा प्रथम हुने श्री पश्चिम पृतना ई.एम.ई. गणलाई पुरस्कार ।

शारिरीक तन्दुरुस्ती स्तर परिक्षामा प्रथम हुने अधिकृतलाई पुरस्कार ।

सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मानबाट सम्मानीत जमदार देबेन्द्र बहादुर तामाङ्ग (अवकाश प्राप्त) लाई नगद तीन लाख रुपैया पुरस्कार ।

प्रधान सेनापति उत्कृष्ट कृषक सम्मान, प्रधान सेनापति उत्कृष्ट उद्यमी सम्मान, प्रधान सेनापति उत्कृष्ट समाजसेवा सम्मान, प्रधान सेनापति सफल लघुवित्त उद्यमी सम्मान- २०७७ । 

६. कोभिड-१९ स्वास्थ्य मापदण्डलाई पालना गर्दै आयोजना भएको 'महाशिवरात्री तथा सेना दिवस-२०७७' को अवसरमा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री, प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका अन्य विशिष्ट पदाधिकारीहरु, विभिन्न विदेशी दुतावासका महामहिम राजदुतहरु, नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, विभिन्न मुलुकहरुका सैनिक सहचारीहरु लगायत सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।