बाग्मती प्रदेश स्तरीय नेपाली सेना "भूतपूर्व सैनिक सम्मेलन-२०७७" सम्पन्‍न

१. सैनिक कल्याणकारी बोर्डको संयोजकत्व तथा नेपाली सेनाको व्यवस्थापनमा बाग्मती प्रदेशका भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा "शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार-आत्म सम्मान तथा समृद्धिको आधार" भन्‍ने मूल नाराका साथ मकवानपुरको हेटौंडास्थित श्री मध्य पृतना हे.क्वा.मा आयोजना भएको प्रदेश स्तरीय "भू.पू. सैनिक सम्मेलन-२०७७" सम्पन्न भएको छ ।  

२. राष्ट्रिय गान, विरगति प्राप्त गर्नेहरुको सम्झनामा मौनधारण, कल्याणकारी बोर्डका कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधान सेनापतिबाट दिप प्रज्वलन गरी शुरु भएको यस सम्मेलनमा    बाग्मती प्रदेशको ८ जिल्लाहरुमा बसोबास गर्ने ७,४३६ जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो । उक्त सम्मेलनलाई सम्बोधन गर्नु हुँदै प्रधान सेनापति थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्‍न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गर्नुहुँदै यस प्रकारको कार्यक्रमले भू.पू. तथा बहालवाला सैनिकहरुबीच सामिप्यता बढाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै सैनिक कल्याणकारी कोषका हिताधिकारीहरुको पिरमर्का सम्बोधन तथा व्यवस्थापनको लागि उत्तम माध्यमको रुपमा प्रभावकारी रहेको बताउनु भएको थियो ।  

३. सम्बोधनकै क्रममा उहाँले "नेपाली सेनाको कल्याणकारी कार्यसम्बन्धी दीर्घकालीन योजना २०८७" कार्यान्वयन भएको उल्लेख गर्नु हुँदै भू.पू.हरुको आर्थिक समुन्नति, प्रगति र अवकाश पछिको सुखमय जीवनको समुचित व्यवस्थापन हुनु भनेकै सिङ्गो नेपाली सेनाको आधारस्तम्भ बलियो हुनु हो भन्नु भएको  थियो । अवकाशप्राप्त गरी सकेपछि पुन: रोजगारीको लागि विदेशिने अवस्थाको अन्त्य गरि स्वेदशमा नै स्व:रोजगारीका अवसरहरु सृजना गरी परिवारसँगै सुखमय जीवनयापनको लागि नेपाली सेनाले सैनिक कल्याणकारी गतिविधीहरुलाई विविधीकरण गरी सर्वसुलभ बनाउन अधिकतम प्रयास गर्दै आएको बताउनु भएको थियो ।

४. सो कार्यक्रममा जेष्ठ भूतपूर्व सैनिक थाहा नगरपालिका वडा नं. ३ पालुङ्ग, मकवानपुर निवासी बर्ष ९८ को श्री पुरानो गोरख गणबाट अवकास प्राप्त सुवेदार गजेन्द्र बहादुर कार्की र श्री शम्शेर दल गणबाट अवकास प्राप्त स्वर्गिय सिपाही नन्द प्रसाद पाल्याको श्रीमती बर्ष 103 कि जेष्ठ एकल महिला श्रीमती गोमा ढकाललाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट लघु व्यवसायी बन्‍न सफल नुवाकोट जिल्ला विदुर नगरपालिका -६ निवासी ''आकुँ कृषि फर्म'' का सञ्चालक अम. राजकुमार आचार्य (अ.प्रा.) र उत्कृष्ट लघुउद्यम व्यावसायी चितवन जिल्ला भरतपुर म.न.पा.-१५ निवासी ''न्यौपाने एकिकृत कृषि फर्म'' का सञ्चालक हु. टोक नाथ न्यौपानेकी श्रीमती शुशिला न्यौपानेलाई सम्मान गरिएको थियो । उक्त समारोहमा ४ वा सो भन्दा बढी सन्ततिहरुलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने १0 जना आमा तथा बुवाहरुलाई सम्मान, फरक क्षमता भएका तथा असक्त ४९ जनालाई व्हिल चियर, बैशाखी र आर्थिक सहयोग प्रदान गरिनुका साथै लघुबित्त कार्यक्रम अन्तर्गत महिला उद्यमशिल कर्जा प्राप्त गर्ने ऋणीहरुलाई चेक हस्तान्तरण गरिएको थियो । उक्त अवसरमा प्राथमिकताको आधारमा कोभिड-१९ को भ्याक्सिन समेत प्रदान गरिएको थियो । 

५. भू.पू. सैनिकहरुको तर्फबाट अवकास प्राप्त रथीबृन्दहरु तथा भूतपूर्व सैनिक संघका सभापतिबाट सम्बोधन एवं बलाधिकृत रथी प्रभुराम शर्माको मन्तव्य सहित समापन भएको उक्त कार्यक्रम हेटौडाको स्थानिय टेलिभजन 'टिम टेलिभिजन' तथा सोही टि.भि.को YouTube Channel र Facebook Page बाट समेत प्रत्यक्ष प्रसारण भएको थियो । उक्त समारोहमा बागमती प्रदेशका प्रमुख सचिव, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत, हेटौंडा उपमहानगरपालिकाको प्रमुख, प्रदेशस्तरीय सुरक्षा प्रमुखहरु, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतवर्ग लगायत बिभिन्न सञ्चारगृहका सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

६. यस प्रकारको सम्मेलनले भूतपूर्व सैनिक व्यक्तिहरूको अवकाश पछिको जीवनमा थप उर्जा र शक्ति प्रदान गर्नुका साथै सम्मानपूर्ण सामाजिक जीवनमा स्थापित भई सेनाप्रति सकारात्मक सोचको विकास एवं राष्ट्रिय एकतामा टेवा दिन थप उर्जा तथा हौसला मिल्ने विश्वास नेपाली सेनाले लिएको छ ।