"घोडेजात्रा समारोह २०७७" सम्पन्‍न

१.    आज मिति २०७७ चैत्र २९ गते टुँडिखेलस्थित सैनिक मञ्‍चमा नेपाली सेनाका परामधिपति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा विविध अश्‍वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरु सहितको राष्ट्रय पर्व 'घोडेजात्रा समारोह २०७७' सम्पन्‍न भएको छ ।  

२.    उक्त समारोहमा अश्‍वकलाका विविध रोचक कार्यक्रमहरु राइड पास/डगद्वारा मार्चपास, टांगन घोडा दौड/डगद्वारा बुकी लोटस, साईकल रेस, शो-जम्प, ड्रिल राइड/गार्ड डग प्रदर्शन, हर्स बल/डग रिले रेस, हंगेरियन पोष्ट लागायतका विविध रोमाञ्‍चक कलाहरु प्रदर्शन भएको थियो ।

३.    विभिन्‍न प्रदर्शनी पश्‍चात समारोहका प्रमुख अतिथि सम्माननीय राष्ट्रपतिज्‍यूबाट म्युजिकल राईडमा प्रथम र द्वितीय हुने क्रमश: घोडसवार सह सेनानी प्रवेश खड्‍का र उप सेनानी दिपिन थापा, शो-जम्पमा प्रथम र द्वितीय हुने क्रमश: घोडसवार सिपाही ओमप्रकाश यादव र जगदिश घिसिङ्ग तथा साईकल रेसमा प्रथम र द्वितीय हुने क्रमश: ओकेशराज बज्राचार्य र हिमाल टमाटालाई पुरस्कार प्रदान गर्नु भएको थियो ।

४.    समारोहको अन्त्यमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले प्रथम पटक प्रकाशित "पहिलो तथा दोस्रो विश्‍व युद्धमा सहभागी नेपाली सैनिकहरुको विवरण" शिर्षकको पुस्तक विमोचन गर्नुहुँदै पुस्तक लेखनमा योगदान पुर्‍याउने लेखकहरु तथा रथीवृन्दलाई कदर-पत्र प्रदान गर्नु भएको थियो ।

५.    नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको उक्त समारोहमा सम्माननीय उप राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, नेपाल सरकारका माननीय मन्त्रीहरु, प्रधान सेनापति, नेपाल सरकारका सचिवहरु, महामहिम राजदुतहरु, पूर्व प्रधानसेनापतिहरु, विभिन्‍न विदेशी दुतावासका सैनिक सहचारीहरु, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द एवं अधिकृतहरु, अन्य सुरक्षा निकायका वरिष्ठ अधिकृतहरु, सञ्‍चारकर्मीहरु, परिवारजन तथा सर्वसाधारणहरुको समेत उपस्थिति रहेको थियो ।